समाचार

नेपाली आईटी विज्ञ— फिक्कलका प्रभाकर

२२ असार, यूएई । इलामको रमणीय पहाडी बस्ती फिक्कल गैरीगाउँका प्रभाकर शर्मा आज संयुक्त अरब इमिरेट्स (यूएई)को एक बहुप्रतिष्ठित कम्पनीमा सूचना प्रविधि (आईटी– टिकटिङ) विभाग प्रमुखका रुपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको जिम्मेवारी सम्हाल्न पुग्नु उनका लागि केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली युवाको क्षमता, दक्षता र सम्भावनाको सशक्त उदाहरण पनि हो । उनले आफ्नो कर्म र संघर्षमार्फत नेपालीहरु केवल श्रमशक्तिमा मात्र होइन, प्राविधिक दक्षतामा समेत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित गरेका छन् ।


२०४४ साल फागुन २१ गते साविक फिक्कल गाविसको गैरीगाउँ, हाल सूर्योदय नगरपालिका–९ मा प्रभाकरको जन्म भएको थियो । मध्यमवर्गीय किसान परिवारमा हुर्किएका प्रभाकरका बाबुआमाको मुख्य आम्दानीको स्रोत खेतीपाती नै थियो । आर्थिक अभाव भए पनि परिवारमा शिक्षाप्रतिको दृष्टिकोण भने सकारात्मक र प्रगतिशील थियो ।


प्रभाकरकी आमा एसएलसी उत्तीर्ण भएकी शिक्षित महिला हुनुहुन्थ्यो । आमाले स्थानीय शिशु स्याहार केन्द्रमा काम पाएपछि प्रभाकरले त्यहीँबाट आफ्नो शैक्षिक यात्रा शुरु गरे । त्यसपछि उनी आफ्ना दाजुसँगै कजिनीस्थित आदर्श प्राथमिक विद्यालयमा भर्ना भए र कक्षा ४ सम्म अध्ययन गरे । सीमित स्रोत–साधन भएको ग्रामीण वातावरणमा पनि उनले निरन्तर शिक्षा हासिल गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाए ।


उनको जीवनमा एउटा महत्वपूर्ण मोड अंग्रेजी शिक्षक श्याम भण्डारीको आगमनले ल्यायो । भण्डारी, सल्लाहपछि प्रभाकरकै घरमा बस्न थाले । दिउँसो बोर्डिङ स्कूलमा पढाउने उनले बिहान–बेलुका अंग्रेजी तथा अन्य विषय पढाउन थालेपछि प्रभाकर, उनका दाजु र कान्छी दिदीको पढाइमा उल्लेखनीय सुधार आयो । गुणस्तरीय शिक्षाको त्यो अवसरले उनीहरुको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो ।


श्याम भण्डारीकै सल्लाहमा आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि बाबुआमाले छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउने निर्णय गरे । त्यो सजिलो निर्णय थिएन । तर ३ जना विद्यार्थी भर्ना गर्दा एक जनालाई निःशुल्क पढाउने बोर्डिङ स्कूलले दिएको सहुलियत व्यवस्थाले परिवारलाई केही राहत दियो ।


यसपछि प्रभाकर इभरल्याण्ड बोर्डिङ स्कूल, फिक्कलमा भर्ना भए र कक्षा ८ सम्म अध्ययन गरे । ग्रामीण परिवेशमा भएका कारण घरको सबै कामहरुमा पनि सहयोग गर्नुपथ्र्यो (गाईलाई घाँस, खोलेको व्यवस्था गर्ने, थलो भकारो, दाउरा, पूजापाठ, खाना बनाउने इत्यादि) यी सबै काम सघाएर डेढ घण्टाको पैदल यात्रा गरेर स्कूल जानु पथ्र्यो । कक्षा ५, ६ र ७ को अध्ययन त्यही स्कूलमा पूरा गरेर उनी र उनका दाजु सनराइज बोर्डिङ स्कुल, फिक्कलमा गए । कक्षा ८, ९ र १० को अध्ययन त्यहीँबाट पूरा गरे ।


तर त्यतिबेला उक्त विद्यालयले एसएलसी परीक्षाको अनुमति नपाएकाले प्रभाकरले अन्तिम परीक्षा भने स्थानीय फिक्कल माध्यमिक विद्यालयबाट दिए । २०५९ सालमा उनले दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । यो सफलता उनको शैक्षिक यात्राको अर्को महत्वपूर्ण आधार बन्यो ।


उनको बुबा खेतीपातीबाहेक दूध संकलन गर्नुहुन्थ्यो र डेरी विकास निगमलाई बेच्नुहुन्थ्यो । पछि त्यही व्यवसायलाई सहकारीमा परिणत गरेर व्यवस्थापकको भूमिकामा रहनुभयो । पछि उहाँले ग्रामीण पशु उपचारको तालिम लिने अवसर पनि पाउनुभयो र अभ्यास गर्न थाल्नुभयो । उनकी आमा पनि महिला विकास शाखाका विभिन्न पहलहरुमा संलग्न हुनुहुन्थ्यो र पछि बचत तथा ऋण सहकारी संस्था स्थापना गरी व्यवस्थापक बन्नुभयो । जसले गर्दा उनीहरुको आर्थिक स्थितिमा केही सुधार आयो ।


दुवै छोराको पढाइ राम्रो देखेपछि उनका बाबुले थप ठूलो निर्णय लिए– उनीहरुलाई झापामा पढाउने । भविष्यको उज्यालो सम्भावनालाई ध्यानमा राख्दै ऋणधन गरेर भए पनि पढाउनुपर्छ भन्ने उद्देश्यले बिर्तामोडमा भर्ना गरियो । प्रभाकरले गोमेन्द्र बहुमुखी कलेज, बिर्तामोडमा कम्प्युटर साइन्स विषय लिए भने उनका दाजुले मानविकी संकाय रोजे ।


घरको संरक्षण र अभिभावकीय निगरानीबाट टाढा भएपछि पढाइमा अपेक्षित सफलता प्राप्त हुन सकेन । तर उनी कहिल्यै असफल भएनन् । संघर्षकै बीच उनले प्लस टु अध्ययन पूरा गरे । प्लस टु सकेपछि उनका दाजु सेनामा भर्ती हुने उद्देश्यले धरानतिर लागे भने प्रभाकरले थप अध्ययनका लागि फरक बाटो रोजे । सन् २००५ मा उनी काठमाडौं पुगे । काठमाडौंमा दिदी–भिनाजुको साथले उनको जीवनमा अर्को महत्वपूर्ण मोड लियो ।


भिनाजु डिल्ली आचार्यकै सल्लाहमा प्रभाकरले नोबेल कलेज, सिनामंगलमा कम्प्युटर इन्फर्मेसन विषयमा स्नातक अध्ययन शुरु गरे ।

जीवन साथीसँगको त्यो संयोगको भेट
सन् २००९ मा दिदी–भिनाजु अमेरिका गएपछि प्रभाकरले विदेश जाने लक्ष्यसहित आईईएलटीएस अध्ययन शुरु गरे, जसले अन्तर्राष्ट्रिय अवसरतर्फ नयाँ ढोका खोल्यो । आईईएलटीएस अध्ययनकै क्रममा उनले काठमाडौंमा केही समय ट्रेनीका रुपमा काम गरे र पछि गौरीघाटस्थित एक विद्यालयमा कम्प्युटर साइन्स अध्यापन गर्न थाले ।

शिक्षकका रुपमा बिताएको समयले उनको प्राविधिक ज्ञानलाई निखार्नुका साथै जीवनमा विशेष मोड पनि ल्यायो । सोही विद्यालयमा कार्यरत प्रज्ञा घिमिरेसँग उनको चिनजान प्रेममा परिणत भयो र लामो सम्बन्धपछि उनीहरुले सन् २०१३ को डिसेम्बरमा विवाह गरे । आज प्रभाकरको जीवनयात्राकी महत्वपूर्ण सहयात्री बनेकी छन्– प्रज्ञा ।

विदेश यात्राको प्रारम्भ
यसबीच प्रभाकरको जीवनमा विदेशको अवसर पनि ढकढक्याउन थालिसकेको थियो । उनका दाजु सन् २००७ मै यूएई पुगिसकेका थिए । दाजुकै सल्लाह र आग्रहमा सन् २०१० मा एक रिक्त पदका लागि प्रभाकरलाई दुबई आउन प्रस्ताव आयो । नयाँ अवसर र आकर्षक सम्भावनाले उत्साहित प्रभाकरले सन् २०१० अक्टोबर १ मा जीवनमै पहिलो पटक विमान चढेर दुबईको यात्रा गरे र उक्त पदका लागि उनले आवेदन दिए ।

आशा थियो– साक्षात्कारपछि नयाँ अध्याय शुरु हुनेछ । तर भाग्यले तत्काल साथ दिएन । अन्तर्वार्ताको चरणमै पुग्न नपाउँदै उक्त पद नै खारेज भयो । सपना अधुरै रह्यो । त्यसपछि उनले करिब २५–३० स्थानमा जागिरका लागि प्रयास गरे । कतिपय सामान्य कामका अवसर आए, तर उनले आफ्नो क्षेत्रमा बाहेक अन्यत्र काम नगर्ने अडान लिए ।


त्यो निर्णय सजिलो थिएन । विदेशको अपरिचित भूमिमा बेरोजगार भएर बस्नु मानसिक रुपमा चुनौतीपूर्ण थियो । तर आफ्नो सीप र क्षमतामाथिको विश्वासले उनलाई डगमगाउन दिएन । यही क्रममा उनका दाजुका साथी कपिल खड्काले सहयोगको हात बढाए । कपिलको आग्रहमा प्रभाकर दुबईस्थित ‘यस होटल’मा अन्तर्वार्ताका लागि पुगे । उनले आफ्नो बायोडाटा बुझाए । होटलले मासिक १७५० दिरामसहित अन्य सुविधा दिने प्रस्ताव राख्यो । तत्काल निर्णय नगरी उनले सोचेर जवाफ दिने बताए । त्यसबेला कपिल पनि सोही होटलमा कार्यरत थिए ।


केही सल्लाहपछि प्रभाकरले दस दिनपछिको टिकट सारे । खबर नआएपछि भोलिपल्ट नेपाल फर्किने तयारीमा किनमेल गरिरहेका बेला होटलबाट फोन आयो । मानव संसाधन विभागले अन्तर्वार्ताका लागि बोलाएको खबर थियो ।
अन्तर्वार्तापछि मेडिकल परीक्षण गर्नुपर्ने भयो । प्रभाकरले आफू नेपाल फर्किन लागेको जानकारी गराएपछि कम्पनीले सहज रुपमा नेपाल फर्किएर मेडिकल रिपोर्ट पठाउन आग्रह ग¥यो र पुनः टिकट पठाइदिने आश्वासन दियो । त्यसपछि उनी नेपाल फर्किए ।


नेपाल फर्किएको ठीक २० दिनपछि, अर्थात् सन् २०११ जनवरी २ मा उनलाई पुनः दुबईको टिकट पठाइयो । जनवरी ३ देखि उनले आईटी सपोर्ट पदमा औपचारिक रुपमा वैदेशिक रोजगारीको यात्रा शुरु गरे । त्यो नै उनको अन्तर्राष्ट्रिय करियरको पहिलो औपचारिक पाइला थियो । त्यहाँ उनले दुई वर्षसम्म इमानदारिता र दक्षताका साथ काम गरे ।


सन् २०१३ मा उनले यूएईकै प्रतिष्ठित ‘थिम पार्क फेरारी वल्र्ड’मा आईटी विशेषज्ञका रुपमा नयाँ यात्रा शुरु गरे । यो अवसरले उनको करियरलाई नयाँ उचाइमा पु¥यायो । प्रविधि क्षेत्रमा आफ्नो दक्षता, नेतृत्व क्षमता र समस्या समाधान गर्ने शैलीले उनले छोटो समयमै आफूलाई प्रमाणित गरे ।


सन् २०१६ मा व्यवस्थापक पदका लागि प्रतिस्पर्धा खुल्यो । त्यो अवसर प्रभाकरका लागि केवल पदोन्नतिको अवसर मात्र थिएन, आफ्नो क्षमताको वास्तविक परीक्षण पनि थियो । पढाइमा जस्तै उनले यहाँ पनि हार व्यहोर्नुपरेन । प्रतिस्पर्धामा सफल हुँदै व्यवस्थापक बने । यो उपलब्धिले उनको पद, प्रतिष्ठा, मासिक आम्दानी र सेवा–सुविधामा उल्लेखनीय परिवर्तन ल्यायो ।


त्यसपछि उनको करियर उकालो लाग्दै गयो । सन् २०२२ मा लाइन म्यानेजरबाट उनी सिनियर म्यानेजरमा पदोन्नति भए । दुई वर्षसम्म उक्त जिम्मेवारी सम्हालेपछि सन् २०२४ मा उनले मिराल ग्रुप छाडेर अर्को कम्पनीमा नयाँ यात्रा शुरु गरे । त्यहाँ सन् २०२६ मार्चसम्म काम गरेपछि पुनः अप्रिल महिनादेखि मिराल ग्रुपमै फर्किएर कार्यरत छन् ।

सफलताको सुन्दर कथा प्रभाकरको परिवार
आज प्रभाकरको परिवार पनि सफलताको अर्को सुन्दर कथा बनेको छ । उनकी श्रीमती प्रज्ञा घिमिरे अबुधाबीकै एक चर्चित अस्पतालमा मार्केटिङ प्रतिनिधिका रुपमा कार्यरत छिन् । उनीहरुकी नौ वर्षीया एक छोरी छिन्, जसले परिवारको खुसीलाई अझ पूर्ण बनाएको छ ।


तर यो सहज यात्राको अन्त्यमा पुगेको सफलता होइन । यूएईका सुरुवाती दिनहरु निकै संघर्षपूर्ण थिए । सीमित आम्दानी, जिम्मेवारी र भविष्यको अनिश्चितताबीच उनले निरन्तर संघर्ष गरे । आज भने परिस्थितिले पूर्ण मोड लिएको छ । परिवार आर्थिक रुपमा सबल बनेको छ ।


उनका ९८ वर्षीय हजुरबा अहिले नेपालमै छन् । दाजुको बसोवास हाल क्यानडामा छ । बाबुआमा कहिले क्यानडा त कहिले अबुधाबी गर्दै परिवारसँग समय बिताइरहेका छन् । यसले परिवारको सम्बन्धलाई अझ बलियो बनाएको छ । आज प्रभाकर आफ्नो वर्तमान अवस्थाप्रति अत्यन्त सन्तुष्ट छन् । परिवार खुसी छ, जीवन व्यवस्थित छ र करियर सुदृढ छ ।

भारतीयको प्रभूत्वमा नेपाली लिडर
यूएईको आईटी क्षेत्रमा भारतीयहरुको प्रभूत्व रहेको अवस्थामा सीमित नेपालीहरुमध्ये उच्च व्यवस्थापकीय पदमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । आज प्रभाकर केवल यूएईको एक सफल आईटी व्यवस्थापक मात्र होइनन्, नेपाली प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय सम्भावनाका एक सशक्त प्रतिनिधि पनि बनेका छन् । वर्षौंको अनुभव, संघर्ष र सफलतापछि उनी अहिले यूएईको सूचना प्रविधि क्षेत्रको अवस्थालाई नजिकबाट बुझ्ने अवस्थामा पुगेका छन् ।


उनका अनुसार अहिले यूएईमा सूचना प्रविधि क्षेत्रको सम्भावना अत्यन्तै व्यापक छ । डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, डाटा व्यवस्थापन र क्लाउड कम्प्युटिङजस्ता क्षेत्रमा तीव्र विस्तार भइरहेकाले दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । यही कारणले यूएईलाई उनी ‘अवसरको खानी’का रुपमा व्याख्या गर्छन् ।


प्रभाकरको बुझाइमा नेपाली आईटी विज्ञहरुको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो मानिन्छ । सीप, मेहनत र समस्या समाधान गर्ने क्षमताका आधारमा नेपालीहरु कुनै पनि देशका जनशक्तिभन्दा कम छैनन् । तर यूएईको आईटी बजारमा भारतीयहरुको अत्यधिक बाहुल्यता रहेको सन्दर्भमा त्यो घेरा तोड्नु अहिले नेपालीहरुका लागि मुख्य चुनौती बनेको छ ।


उनी भन्छन्, ‘हाम्रो क्षमता राम्रो छ, तर पहुँच कमजोर छ । अवसरसम्म पुग्ने बाटो खुलाउन सके नेपालीहरु यूएईको आईटी बजारमा उल्लेखनीय रुपमा स्थापित हुन सक्छन् ।’


उनको विचारमा नेपाल सरकारले यो क्षेत्रलाई रणनीतिक रुपमा प्राथमिकतामा राख्न सके देशले दक्ष जनशक्तिमार्फत ठूलो मात्रामा वैदेशिक आम्दानी भिœयाउन सक्छ । अहिले विश्वभर आईटी सेवाको माग तीव्र गतिमा बढिरहेको अवस्थामा नेपालले आफ्ना युवालाई दक्ष बनाएर अन्तर्राष्ट्रिय बजारमा पठाउने नीति अपनाउनुपर्ने उनको सुझाव छ ।


प्रभाकरका अनुसार यो केवल सरकारको दायित्व मात्र होइन । सामाजिक संघसंस्था, व्यावसायिक संगठन र स्वयं यस क्षेत्रमा कार्यरत दक्ष व्यक्तिहरुले पनि आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । यदि यी सबै पक्ष एकै दिशामा अघि बढ्न सके यूएईको आईटी बजारमा नेपालीहरुको पहुँच उल्लेखनीय रुपमा विस्तार हुन सक्छ ।


उनी भन्छन्, ‘यूएईमा अवसर खोज्न आउनेहरुका लागि अहिलेको समय उपयुक्त छ । यहाँ कम्पनीहरुसँग सिधै सम्पर्क गरेर आफ्नो क्षमता प्रस्तुत गर्न सकिन्छ । अझ अहिलेको डिजिटल युगमा यूएईमै बसेर मात्र होइन, नेपालमै बसेर पनि यहाँका कम्पनीका लागि काम गर्ने अवसरहरु बढिरहेका छन् ।’
उनको यो अनुभवले नयाँ पुस्तालाई एउटा महत्वपूर्ण सन्देश दिन्छ– विश्व बजारमा अवसर खोज्न विदेश जानु मात्र अन्तिम विकल्प होइन सीप, दक्षता र सही नेटवर्क भए आफ्नै देशमा बसेर पनि अन्तर्राष्ट्रिय स्तरको करियर निर्माण गर्न सकिन्छ ।

सामाजिक जीवनमा सक्रियता
व्यावसायिक सफलतासँगै प्रभाकर र उनकी जीवनसंगिनी प्रज्ञा सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् । व्यक्तिगत सफलतालाई समाजप्रतिको जिम्मेवारीसँग जोड्दै उनीहरु यूएईका विभिन्न नेपाली संघसंस्थामार्फत आर्थिक सहयोग, राहत वितरण तथा मानवीय सेवामा निरन्तर संलग्न छन् । विशेषगरी कोभिड–१९ महामारीका समयमा यूएईमा समस्यामा परेका नेपालीहरुलाई राहत, समन्वय र आवश्यक सहयोग उपलब्ध गराउन उनीहरुले महत्वपूर्ण योगदान दिएका थिए ।

साथै, नेपालमा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका बेला पनि उनीहरुले विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन् । बहुसांस्कृतिक समाजमा मानवसेवा सीमाभन्दा माथिको विषय हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै यो दम्पतीले समाजसेवामार्फत नेपाली समुदायमा सकारात्मक छाप छोड्न सफल भएका छन् ।
प्रभाकर र प्रज्ञाको जीवनयात्रा केवल सफलता, संघर्ष र समर्पणको कथा मात्र होइन यो समाजप्रति उत्तरदायित्व, परिवारप्रतिको समर्पण र मातृभूमिप्रतिको अपनत्वको पनि कथा हो ।


इलामको एउटा सामान्य गाउँबाट शुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय आईटी बजारसम्म पुगेको छ । यो केवल एउटा व्यक्तिको उपलब्धि होइन, सम्भावनाको खोजीमा रहेका हजारौं नेपाली युवाका लागि प्रेरणाको कथा हो । प्रभाकरको कथाले यही सन्देश दिन्छ– सपना साना वा ठूला हुँदैनन्, तिनलाई साकार पार्ने साहस र निरन्तरता नै सफलताको वास्तविक आधार हो ।


अवसरको खोजी, सीपप्रतिको निष्ठा र आत्मविश्वासको बलमा नेपाली युवाले विश्वको जुनसुकै कुनामा पनि आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश प्रभाकरको जीवनले स्पष्ट रुपमा दिएको छ । मेहनत, धैर्य र स्पष्ट लक्ष्य भए गाउँको सामान्य परिवारबाट पनि विश्वस्तरको सफलता सम्भव हुन्छ भन्ने जीवित प्रमाण हुन्– प्रभाकर शर्मा ।