फिचर

नेपाली दक्ष जनशक्तिका लागि यूएई अवसरको भूमि

२२ असार, दुबई । सन् २००८ मा रोजगारका लागि संयुक्त अरब इमिरेट्स (यूएई) आएका सन्तोष भट्टराईलाई शारजाह विमानस्थलमा बिताएको पहिलो रात अझै ताजै लाग्छ । रस अल खैमास्थित राक सेरामिक्समा सिनियर आईटी एक्जिक्युटिभका रुपमा कार्यभार सम्हाल्न आएका उनलाई त्यही रात एक नेपाली यात्रुले भनेका शब्द आज पनि सम्झना छन्– ‘भविष्य राम्रो छ’ । त्यसपछि भट्टराईले पछाडि फर्कनु परेको छैन ।


नेपालमा सूचना प्रविधि विषयमा अध्ययन गरेका भट्टराईले सन् २००५ मा स्नातक तह पूरा गरेका थिए । उनले भारत सरकारको विदेश मन्त्रालयको छात्रवृत्तिमा ‘एडभान्स नेटवर्किङ टेक्नोलोजी’ तालिम प्राप्त गरेका थिए । सन् २००४ देखि २००८ सम्म नेपालस्थित भारतीय दूतावासमा सिस्टम एड्मिनिस्ट्रेटरका रुपमा काम गरेका उनले त्यसपछि भने यूएईको यात्रा थालेका हुन् ।


यूएईमा उनको करिअर राक सेरामिक्सबाट शुरु भयो, जहाँ उनले सन् २०१५ सम्म विभिन्न सूचना प्रविधि परियोजनाको नेतृत्व गरे । हाल उनी लाटिक्रेट मिडल इस्ट एलएलसीमा ‘रिजनल म्यानेजर–आईटी एण्ड स्पेसल प्रोजेक्ट्स’का रुपमा कार्यरत छन् । करिब दुई दशक लामो व्यावसायिक यात्राको अनुभव सुनाउँदै भट्टराई नेपाली युवाको क्षमता विश्वस्तरको रहेको बताउँछन् । ‘सूचना प्रविधि, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी वा अन्य कुनै पनि क्षेत्रमा नेपाली युवाको ज्ञान र मेहनत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर छैन,’ उनी भन्छन् ।


उनका अनुसार यूएईमा दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । नेपाल सरकारले ‘जब सर्चिङ भिजिट भिसा’ जस्ता विषयमा कूटनीतिक पहल गर्न सके नेपाली युवाका लागि थप अवसर सिर्जना हुन सक्छन् । साथै, उनले नेपाललाई यूएईका लागि सम्भावित ‘आउटसोर्सिङ हब’का रुपमा विकास गर्न सकिने धारणा राख्छन् ।

प्राविधिक सेवा, लेखा व्यवस्थापन, कल सेन्टर तथा इन्जिनियरिङ डिजाइनजस्ता क्षेत्रमा नेपाल–यूएई सहकार्य विस्तार गर्न सके दुवै मुलुकका संस्थाले लागत घटाउने र दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लाभ लिन सक्ने उनको विश्वास छ । ‘सही नीति, संस्थागत संरचना र अन्तर्राष्ट्रिय सहकार्य भए नेपालले आफ्नो दक्ष जनशक्तिलाई विश्व बजारसँग जोड्न सक्छ,’ भट्टराई भन्छन् ।