विश्व

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

India's Prime Minister Narendra Modi, left, shakes hands with Indonesia's House Speaker Puan Maharani as Indonesian President Prabowo Subianto, second left, and Vice President Gibran Rakabuming Raka, third left, look on, during his visit at the parliament building in Jakarta, Indonesia, Tuesday, July 7, 2026. (AP Photo/Tatan Syuflana)

जकार्ता, २४ असार (रासस–एएफपी) । भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । यसअन्तर्गत भारतले इन्डोनेसियालाई ब्रह्मोस लामो दूरीको क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्झौता भएको भारतीय पक्षले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीनदिने राजकीय भ्रमणका क्रममा जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको वार्तापछि उक्त सहमति सार्वजनिक गरिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ब्रह्मोस क्षेप्यास्त्र प्रणालीमा सहकार्यसम्बन्धी सम्झौता भएको जानकारी दिए । साथै, दुवै देशबीच हावाबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रणालीसम्बन्धी प्रविधि तथा रक्षा क्षमता अभिवृद्धिका लागि पनि सहकार्य गर्ने सहमति भएको उनले बताए । सम्झौताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । इन्डोनेसियाको रक्षा मन्त्रालयले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

वार्तापछि प्रधानमन्त्री मोदीले भारत र इन्डोनेसियाबीच रक्षा, सुरक्षा तथा समुद्री मामिलामा आपसी विश्वास सुदृढ हुँदै गएको बताए । उनले रक्षा आदानप्रदान, विपद् व्यवस्थापन तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति भएको जानकारी दिए । दुवै देशका तटरक्षक निकायले हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षा र सुरक्षासम्बन्धी सहकार्य पनि बढाउने भएका छन् ।

दुवै पक्षले महत्वपूर्ण खनिज, स्टेनलेस स्टिल तथा दुर्लभ पृथ्वीजन्य चुम्बक (रेयर अर्थ म्याग्नेट) उत्पादन र विकासमा निजी क्षेत्रबीच साझेदारी प्रवद्र्धन गर्ने सहमति गरेका छन् ।

राष्ट्रपति प्रबोवोले आर्थिक सहकार्यलाई द्विपक्षीय सम्बन्धको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार विस्तार तथा प्राथमिकतापूर्ण व्यापार सम्झौतासम्बन्धी वार्तालाई तीव्रता दिने सहमति भएको बताए । दुवै नेताले योग्याकार्तास्थित युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्रम्बानन मन्दिरको पुनःस्थापनाका प्रयासको स्वागत गर्दै बुधबार संयुक्त रूपमा त्यसको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार इन्डोनेसियाको भ्रमणपछि प्रधानमन्त्री मोदी अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने कार्यक्रम छ ।