समाचार

सत्तारुढ दलका सांसदले समेत सरकारलाई उठाए प्रश्न

RSS

काठमाडौँ, २६ असार । प्रतिनिधिसभामा सांसदहरुले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानकर्षण गराए । बैठकको आकस्मिक समयमा सांसद खड्कबहादुर शाहीले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नु दुःखद् भएको बताए । सांसद वर्षमान पुनले नेपालीको घटनाप्रति दुःख व्यक्त गरे ।

उनले रोल्पामा भएका सवारी दुर्घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सांसदहरु आशिका तामाङ, यशोदाकुमारी बराल र शाहजान खातुनले नेपालीले आत्मदाह गर्दा राज्यले नसुनेको गुनासो गरे ।

सांसद ऐन महरले नेपालीले आत्मदाहको प्रयास गरेपछि बीर अस्पतालमा उपचार गराइरहँदा निधन भएको उल्लेख गर्दै परिवारका सदस्यलाई भेट्न नदिएको बताए । सांसद गीता गुरुङले सुकुमबासी बस्तीबाट हटाइएकाहरु अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।