विश्व

चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण

(260710) -- WENCHANG, July 10, 2026 (Xinhua) -- A Long March-10B carrier rocket blasts off from the Hainan commercial spacecraft launch site in Wenchang, south China's Hainan Province, July 10, 2026. China successfully launched the Long March-10B carrier rocket here on Friday, achieving its first-ever controlled recovery of a carrier rocket's first stage. The rocket, in its maiden flight, sent the payload into the preset orbit. After the separation of the rocket's first and second stages, the first stage returned and was successfully captured on a seaborne platform via a net-capture system. Both the launch and the first-stage recovery were successfully completed. This mission marked China's first successful controlled recovery of a carrier rocket's first stage, representing a major breakthrough in the country's reusable rocket technology. (Xinhua/Yang Guanyu)

बेइजिङ, २७ असार (रासस–एएफपी) । चीनले शुक्रबार पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ । यो चीनका लागि अन्तरिक्ष महत्वाकाङ्क्षा र प्रक्षेपण लागत घटाउने दिशामा ठूलो उपलब्धि हो। यो सफलतापछि एसियाली महाशक्ति अमेरिकाको पुनः प्रयोग योग्य रकेट क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको छ । हालसम्म यो क्षेत्रमा एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले नेतृत्व गर्दै आएका थिए।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएअनुसार लङ मार्च–१०बी रकेट चिनियाँ समय अनुसार दिउँसो १२ः१५ बजे हाइनानको प्रक्षेपण स्थलबाट उडान भरेको थियो। यसले एउटा उपग्रहलाई कक्षमा स्थापित गरेको थियो । रकेटको पहिलो भागलाई समुद्रमा रहेको प्लेटफर्ममा ‘नेट–क्याप्चर प्रणाली’ मार्फत सफलतापूर्वक फिर्ता ल्याइएको थियो।

चीनको राज्य प्रसारक सीसीटीभीले हवाई फुटेज प्रसारित गरेको थियो जसमा रकेटको पहिलो भाग प्लेटफर्ममा सहज रूपमा अवतरण गरेको देखिन्थ्यो।

सीएनएसएले भनेको छ, “यो मिसन चीनको लागि ढुवानी रकेटको पहिलो चरणलाई नियन्त्रित रूपमा फिर्ता ल्याउने पहिलो सफल प्रयास हो। साथै यो विश्वकै पहिलो समुद्रमा नेट प्रणालीबाट रकेट फिर्ता ल्याउने घटना हो ।” चिनियाँ अन्तरिक्ष प्रशासनले यसलाई ‘पुनः प्रयोग योग्य रकेट प्रविधिमा चीनको ठूलो सफलता’ भनेको छ।

स्पेसएक्सको फाल्कन ९ रकेटभन्दा फरक, लङ मार्च–१०बी रकेटमा अवतरणका लागि खुट्टा (ल्याण्डिङ लेग्स) प्रयोग गरिएको छैन । ‘चीन एकेडेमी अफ लञ्च भेइकल टेक्नोलोजी’का प्राविधिक विशेषज्ञ चेन मुयेको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “नेटबाट सञ्चालित ‘रिकभरी’ प्रणालीले विशेष फाइदा दिन्छ ।”

विशेषज्ञ चेनले भने, “हालका मुख्य रिकभरी समाधानहरूको तुलनामा नेटबाट सञ्चालित प्रणाली रकेटको अवतरण आवश्यकताअनुसार बढी अनुकूलन योग्य छ।” सामान्यतया धेरैजसो रकेट एक पटक मात्र प्रयोग गर्नका लागि डिजाइन गरिन्छन्। तिनका भागहरू प्रयोगपछि समुद्रमा खस्छन्, वातावरणमा जलेर नष्ट हुन्छन् वा कक्षमा फोहोरका रूपमा रहन्छन्। रकेटको पहिलो भाग सबैभन्दा महँगो मानिन्छ।

चेनले भने, “नेटबाट सञ्चालन हुने रिकभरीले रकेटको आन्तरिक संरचनालाई सरल बनाउँछ। यसमा अवतरणका लागि खुट्टा आवश्यक नपर्ने भएकाले रकेटको तौल पनि घटाउन सकिन्छ।” उनले घटेको तौलले ‘पेलोड’ क्षमता र सञ्चालन दक्षता बढाउन मद्दत गर्ने बताए । रकेटको केही भाग पुनः प्रयोग गर्न सकिँदा उपग्रह वा अन्तरिक्ष यान प्रक्षेपणको लागत घट्छ। लङ मार्च–१० श्रृङ्खलाका रकेटहरू विशेष गरी चीनको भावी चन्द्रमाको मानव मिसनका लागि बनाइएका हुन् ।