समाचार

खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण काठमाडौँ, १३ चैतः कृषि तथा पशुपंक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नारायण न्यौपाने\रासस


काठमाडौँ, ४ साउनः नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालका अनुसार, २४ महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ ।

चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोपरेशन फण्डको आर्थिक सहयोग रहेको परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट, कृषि पोषण सुधार, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ रहेको बताए । एअफएओकी निर्देशक हुआ याङले यस परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गरे । काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने उक्त परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसम सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ ।

परियोजना कार्यान्वयनबाट महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु–अनुकूलन क्षमता सुदृढ पार्ने छ । सहकार्यले अन्तरराष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदानप्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा एफएओका प्रतिनिधि केन शिमिजुलगायत उच्च अधिकारी, सङ्घीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, किसान सङ्गठन र सरोकारवालाको सहभागिता थियो ।