समाचार

एनआरएनए क्षेत्रिय महिला संयोजकमाथि भएको अभद्र व्यवहारको निन्दा

१० साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुबेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिवल कार्यक्रमका क्रममा सार्वजनिक स्थलमा भएको अभद्र व्यवहारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुख व्यक्त गरेको छ ।

महिलाको सम्मान, सुरक्षा र मर्यादा प्रत्येक सभ्य समाजका आधारभूत स्तम्भ भएको भन्दै संघले कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा कुनै पनि प्रकारका अमर्यादित गतिविधिप्रति शून्य सहनशीलताको नीति रहेको बताएको छ ।

घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा न्याय सुनिश्चित गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी प्रमाणित भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न गैरआवासीय नेपाली संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ । विदेशमा गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले व्यक्तिगत पहिचान मात्र होइन, नेपालको छवि, प्रतिष्ठा र नेपाली समुदायको सम्मानसमेत प्रतिनिधित्व गर्ने संघले स्मरण गराएको छ ।

त्यसैले सबैले सभ्य, मर्यादित र जिम्मेवार व्यवहार प्रदर्शन गर्दै आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्नु आजको आवश्यकता रहेको संघले उल्लेख गरेको छ । गैरआवासीय नेपाली संघ सम्पूर्ण नेपाली समुदायलाई आपसी सम्मान, संयमित तथा जिम्मेवार अभिव्यक्तिको संस्कृतिलाई आत्मसात् गर्दै सबैको सम्मान, सुरक्षा र मर्यादाप्रति प्रतिबद्ध रहन आह्वान गरिएको छ ।