आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
१४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज लगायतका क्षेत्रमा हालै देखा परेको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौँदेखि रहिआएको सद्भाव, मेलमिलाप र भ्रातृत्व नै नेपालको मौलिक पहिचान तथा परम्परा भएको उल्लेख गरे ।
उनले भनेका छन्, नेपालको यो ऐतिहासिक पहिचानलाई कायम राख्दै देशमा शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछु।
राष्ट्रपति पौडेलले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याउन र नागरिकको सहज जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गरे । अपिलमा उनले भनेका छन्, यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायबिच आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु।
उनले घटनाको निष्पक्ष एवम् सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबै निकायलाई सचेत रहन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले सो दुःखद् घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।