स्थानीय

तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

१४ साउन, काठमाडौं । पछिल्लो समय उत्पन्न सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै तराईका चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनका अनुसार सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाका तोकिएका क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु लागू गरिएको हो । सुनसरी जिल्लाका १० वटै स्थानीय तहमा मङ्गलबार रातिदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

सिरहाको गोलबजार क्षेत्र, पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को क्याम्पस वरपरको क्षेत्रमा दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

सिरहामा लहान क्षेत्र, पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिम सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, उत्तरमा खुट्टी खोलासम्म र दक्षिणतर्फ पूर्व(पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ। धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रमा दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

पर्साको वीरगञ्ज महानगरपालिकाका पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न सबै नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न र संयमता अपनाउन आग्रह गरेको छ।