समाचार

सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

१४ साउन, काठमाडौं । सुनसरीमा भएको घटनाको विरोधमा चर्किँदा बिहीबार मधेश प्रदेश दिनभर नै अशान्त रह्यो । दिनभर विभिन्न संघसंगठनको प्रदर्शनको क्रममा सिरहाको गोलबजार, लहान, धनुषाको जनकपुरधामसहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो । त्यस क्रममा सिरहामा प्रहरीको गोली लागेर सिरहामा एक किशोरको ज्यान गएको छ । अर्का गम्भीर घाइते भएका छन् । धनुषामा ढंगामुढा तथा आक्रमणबाट एक बालकसहित दुईजना घाइते भएका छन् । धनुषा र सिरहामा झडपमा परेर १९ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

सिरहामा आगजानी समेत भएको छ । आन्दोलन उग्र बनेपछि जनकपुरधामसहित सिरहामा कर्फ्यू आदेश र पर्सामा निषेधाज्ञा आदेश जारी गरिएको छ ।
प्रशासनले कर्फ्यु जारी गरेपछि पनि गोलबजार नगरपालिका–४ स्थित क्याम्पस रोड क्षेत्रमा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामबृक्ष यादवका अन्दाजी १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ ।

उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको थियो । गोली लागेर घाइते भएका धनुषाको धनुषाधामका सुवास ठाकुरलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

त्यस अघि दिउँसो सिरहाको गोलबजारमा प्रदर्शनकारीको प्रदर्शनले अवस्था असहज बन्दै जाँदा झमझम होटल अगाडि दुई पक्षबीच भएको झडपले उग्ररुप लिएको थियो । त्यस क्रममा नेपाल टेलिकम अगाडि पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकल र एउटा साइकलमा आगजनी भयो ।

यस्तै गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनासमेत भएका छन् । एबी मल,नेहाल आइरन स्टोर ,नौसाद मोटर साइकल ग्यारेज,रोयल प्रिन्स होटेल एन्ड पार्टी प्यालेस र गोलबजार नपा–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारमा रहेको घरमा आन्दोलनकारीहरूले आगजानी गरेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार झडप नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रहरी कार्यलयका डिएसपी रमेशबहादुर पालसहित करिब १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । डिएसपी पाललाई मुखमा चोट लागेको छ । स्थानीय तथा प्रहरी दुवै पक्षका व्यक्तिहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यता बिहीबार बिहानैदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम अशान्त रह्यो । रामानन्दचोकमा सडकजाम गर्दै प्रदर्शन सुरु गरेका विभिन्न संघसंगठनका युवाहरूले बजार व्यवसायसमेत बन्द गराए । केही स्थानमा तोडफोडसमेत गरे । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच जनकपुरधामको रामानन्दचोक, बजरंगचोक लगायतमा पटकपटक दिनभर झडप भयो । त्यस क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेका छन् ।

जनकपुरधाममा ढुंगामुढाबाट एक बालकसहित दुईजना घाइते पनि भएका छन् । केही प्रहरी समेत घाइते भएका छन् । ढुंगामुढा लागेर जनकपुरधाम उपमहानगरपालिका ७ का १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए । यस्तै जनकपुरधाम उपमहानगरपालिका २० का भोगेन्द्र कुमार राम घाइते भएका छन् । उनको टाउको फुटेको छ ।

झडपको क्रममा आन्दोलनकारीको ढुंगामुढा लागेर धनुषा र सिरहामा १९ जना प्रहरी घाइते भएका छन् । धनुषामा १५ जना प्रहरी घाइते भएका छन् भने सिरहामा ४ जना प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनले उग्र हुँदै गएपछि स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चित समयका लागि कर्फ्यु लागू गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिका भित्र, नगराइन नगरपालिकाको नगराइन चोकसम्म र लक्ष्मीनिया गाउँपालिकाको सोहनी सिनुरजोडा एवं लक्ष्मीनिया हाटबजारसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेशपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतका सुरक्ष निकाय सडकमा सक्रिय छन् ।

परिस्थिति बिग्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्साको वीरगञ्जमा समेत निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा जारी गरेका हुन् । यस्तै सप्तरीको राजविराजस्थित विभिन्न स्थानमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी संयमित बन्दा अप्रिय घटना भने हुन सकेन ।

महोत्तरीको मटिहानीमा पनि प्रदर्शन भएको छ । पर्सा, सर्लाही, रौतहटका पनि केही स्थानमा समान्य प्रदर्शन भएको खबर प्राप्त भएको छ । जनकपुरमा प्रदर्शन चर्किएपछि शुक्रबार शैक्षिक संघसंस्था विद्यालय तथा क्याम्पसहरू बन्दको घोषणा गरिएको छ । शैक्षिक क्षेत्रका संस्थाहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बन्द घोषणा गरेको हो । साथै घटनालाई साम्य बनाउन राज्य तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।