फिफा विश्वकप २०२६ : तथ्यांक, विवाद र भविष्य
कुमार न्यौपाने
हाल : न्यूयोर्क
विश्व फुटबलको नयाँ युगको शुरुवात
फुटबललाई विश्वकै सबैभन्दा लोकप्रिय खेल मानिन्छ । भाषा, धर्म, संस्कृति र भौगोलिक सीमाभन्दा माथि उठेर मानिसलाई एउटै भावनामा बाँध्ने शक्ति फुटबलसँग छ । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो विश्वव्यापी सांस्कृतिक उत्सव पनि हो । सन् २०२६ को फिफा विश्वकपले यस परम्परालाई नयाँ उचाइमा पु¥यायो ।
पहिलो पटक ४८ राष्ट्रको सहभागिता, तीन देशले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता, १०४ खेल, करोडौं दर्शक तथा नयाँ आर्थिक कीर्तिमानका कारण विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्यो । तर यो विश्वकप केवल सफलताको कथा मात्र थिएन । प्रतियोगितामा उत्कृष्ट फुटबलसँगै विवाद, रेफ्री निर्णयमाथिको बहस, खेल भावना, मौसम, टिकट व्यवस्थापन तथा सामाजिक सञ्जालमा फैलिएका तीव्र प्रतिक्रियाहरु पनि देखिए । त्यसैले विश्वकप २०२६ लाई उपलब्धि र आलोचना दुवै दृष्टिकोणबाट अध्ययन गर्नु आवश्यक छ ।
विश्वकपको शुरुवात सन् १९३० जुल्स रिमेटको नेतृत्वमा उरुग्वेबाट भएको थियो । त्यसबेला ग्रेट डिप्रेसनका कारण केवल १३ राष्ट्रले सहभागिता जनाएका थिए । त्यसपछि प्रतियोगिता विस्तार हुँदै गयो । १९९८ देखि २०२२ सम्म ३२ टोली सहभागी भए । २०२६ मा पहिलो पटक सहभागी टोलीको संख्या ४८ पु¥याइयो । यस विस्तारको मुख्य उद्देश्य थियो– बढी राष्ट्रलाई अवसर दिनु, फुटबलको विश्वव्यापी विकास गर्नु, नयाँ बजार विस्तार गर्नु र आर्थिक आम्दानी बढाउनु नै हो ।
आयोजक राष्ट्रहरु
विश्वकप २०२६ को आयोजना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गरे । विश्वकप इतिहासमा पहिलो पटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए । अमेरिकाले अधिकांश खेल आयोजना ग¥यो । मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्ने गौरव प्राप्त ग¥यो भने क्यानडाले पहिलो पटक पुरुष विश्वकपका खेलहरु आयोजना ग¥यो ।
यसपटक विश्वकपको स्वरुप पूर्ण रुपमा परिवर्तन गरियो । ४८ टोली, १२ समूह, प्रत्येक समूहमा ४ टोली र प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थानका टोलीहरु नकआउट चरणमा प्रवेश पाए । यस कारण प्रतियोगितामा कुल खेल संख्या ६४ बाट बढेर १०४ पुग्यो । २.९६ औसतले जम्मा ३ सय ८ गोल भएको यो विश्वकप स्वाभाविक रुपमा धेरै गोल भएको प्रतियोगिता बन्यो । यसले दर्शकलाई धेरै खेल हेर्ने अवसर दियो तर खेलाडीको शारीरिक थकान र प्रतियोगिताको अवधि बढेको भन्दै केही आलोचना पनि भयो । हाइड्रेसन ब्रेक अर्को चर्चा र आलोचनाको विषय बन्यो ।

मेक्सिको सिटीको उद्घाटन समारोह अत्यन्त भव्य बनाइएको थियो । आधुनिक प्रविधि, संगीत, सांस्कृतिक प्रस्तुति तथा तीन आयोजक राष्ट्रको सांस्कृतिक विविधता प्रदर्शन गरिएको थियो । विश्वभर करोडौं मानिसले प्रत्यक्ष प्रसारण हेरे । समूह चरणमा धेरै अप्रत्याशित नतिजा देखिए । कतिपय परम्परागत बलिया टोली संघर्षमा परे भने केही साना राष्ट्रहरुले उत्कृष्ट प्रदर्शन गर्दै विश्वलाई चकित बनाए । विशेषगरी जापान, मोरक्को, नर्वे, केप भर्डे, क्यानडा, इजिप्ट, कुरासाओ र अमेरिका जस्ता टोलीहरुको प्रदर्शन प्रशंसनीय रह्यो ।
प्रमुख टोलीहरुको प्रदर्शन
न्यूयोर्क: न्यूजर्सीको मेट लाइफ स्टेडियममा दोस्रो पटक विश्वकप जित्दै गर्दा स्पेनले प्रतियोगिताभर उत्कृष्ट बल नियन्त्रण, छोटो पास (टिकीटाका) अनुशासित रक्षा तथा सामूहिक खेल प्रदर्शन ग¥यो । स्पेनको मिडफिल्ड विश्वकै उत्कृष्टमध्ये एक मानियो । उनीहरुले बलिया टोलीविरूद्ध दबाबमा पनि खेलको गति नियन्त्रण गर्न सके ।
अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनल पुगेर आफ्नो फुटबल यात्रा अन्तिमसम्म कायम राख्यो ।
टोलीले आक्रामक फुटबल खेले पनि केही खेलमा अत्यधिक शारीरिक खेल, रेफ्रीसँग बहस, राजनैतिक र सीमाका कुरा तथा समय व्यवस्थापनलाई लिएर आलोचना पनि खेप्नुप¥यो । यस्ता आलोचनाहरु प्रतियोगिताका विभिन्न टोलीहरुतर्फ पनि निर्देशित थिए, तिनको मूल्यांकन गर्दा तथ्य र आधिकारिक निर्णयलाई आधार बनाउनुपर्छ । फाइनलको फितलो प्रदर्शनले ६ विश्वकप खेलेका अर्जेन्टिनाका विश्वप्रसिद्ध खेलाडी मेस्सी सर्वाधिक गोल गर्ने सूचीको दोस्रो नम्बरमा रहन बाध्य भए ।
फ्रान्स फेरि एकपटक बलियो टोलीको रुपमा देखा प¥यो । एक अत्यधिक रूचाएको टोली भइकन आफ्नो स्तरमा निरन्तर सन्तुलन कायम गर्न नसक्दा उनीहरुको गति, काउन्टर अट्याक तथा व्यक्तिगत क्षमता प्रभावशाली हुँदाहुँदै सेमिफाइनलबाटै घर फर्किनुप¥यो । फ्रान्सका एम्बाप्पे समग्रमा मिरोस्लाभ क्लोज र मेस्सीलाई पछि पार्दै सर्वाधिक गोल गर्ने खेलाडी बने ।

इङ्ल्याण्डले १९६६ पछि आफूलाई दोस्रो विश्वकप जित नजिक पु¥याएको थियो । निकै समयपछि स्थिर प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा ग¥यो । युवा बेलिङ्घम र अनुभवी केनको उत्कृष्ट प्रदर्शन हेर्न लायक थियो । ब्राजिल आफूसँग प्रतिभाशाली खेलाडीहरुको बाबजुद अपेक्षितरुपमा अगाडि बढ्न सकेन । निरन्तर चोटसँगको समस्याले जुधिरहेका नेयमार केही समय मात्र मैदानमा देखिए । उनी लगायत क्रिस्टियानो रोनाल्डो, मेस्सी, मोर्डिच र अन्य केही विश्वप्रसिद्ध खेलाडीहरुको यो विश्वकप नै अन्तिम रह्यो ।
दर्शक सहभागिताको विषयमा पनि यो विश्वकप रोचक बन्यो । विशेषगरी अमेरिकाको भिसा कडाइ नीतिको बाबजुद विश्वकप २०२६ ले दर्शक उपस्थितिको नयाँ इतिहास बनायो । करिब ७० लाखभन्दा बढी दर्शक स्टेडियम पुगे । औसत दर्शक संख्या करिब ६५ हजार प्रतिखेल रह्यो । अधिकांश खेल पूर्ण क्षमतामा भरिएका थिए । यसले विश्व फुटबलको लोकप्रियता झन् बढेको पुष्टि ग¥यो ।
विश्वकपले आयोजक राष्ट्रहरुको अर्थतन्त्रमा ठूलो प्रभाव पा¥यो । सम्बन्धित देशहरु तथा स्वयं फिफाले राम्रै आर्थिक लाभ हासिल ग¥यो । मुख्य लाभ भएका क्षेत्रहरु जस्तै– पर्यटन, होटल व्यवसाय, यातायात, रेस्टुरेन्ट, खुद्रा व्यापार, खेल सामग्री, डिजिटल प्रसारण र विज्ञापनमा नयाँ–नयाँ रेकर्डहरु बने । लाखौं पर्यटकहरुले तीन देशको भ्रमण गरे । सामाजिक र संस्कृति, कलाको आदानप्रदान भयो । बृहत रुपमा यसले स्थानीय व्यवसायलाई उल्लेखनीय आर्थिक लाभ पु¥यायो ।
प्रविधिको प्रयोग
यस विश्वकपमा आधुनिक प्रविधिको प्रयोग व्यापक भयो। भीएआर, अर्धस्वचालित अफसाइड प्रणाली, स्मार्ट बल, उच्च गुणस्तरीय क्यामेरा, कृत्रिम बुद्धिमत्तामा आधारित तथ्यांक विश्लेषण । यी प्रविधिले निर्णयलाई छिटो र सही बनाउन सहयोग गरे । यद्यपि भीएआरसम्बन्धी केही निर्णयमाथि बहस भने जारी रह्यो ।
विश्वकप २०२६ ले फुटबल इतिहासमा नयाँ अध्याय शुरु ग¥यो । प्रतियोगिताको विस्तार सफल देखिए पनि यसले भविष्यका लागि केही चुनौती पनि देखायो । विशेषगरी खेलाडीको थकान, केही खेलाडीहरुमा खेल भावनाको चरम अभाव, जसरी पनि जित्ने नीति, लामो प्रतियोगिता, रेफ्रीमाथिको दबाब तथा व्यवस्थापनसम्बन्धी विषयहरु ।
तर एउटा कुरा स्पष्ट थियो । विश्व फुटबलको लोकप्रियता अझै बढिरहेको छ । आगामी २०३० मा स्पेन, पार्चुगल र मोरोक्कोमा हुन गइरहेको विश्वकपमा ६४ देशको सहभागी हुन पाउने निर्णयले विश्व फुटबल झनै उद्वेलित भएको छ । एक–एक खेल अर्जेन्टिना, पाराग्वे र उरूग्वेमा खेलाई विश्वकपको १०० वर्षे संस्करण ३ महादेशमा हुने कुरा अर्को रोचक विषय हो । नयाँ राष्ट्रहरुको उदय, युवा प्रतिभाको आगमन र करोडौं, अरबौं समर्थकको उत्साहले फुटबललाई विश्वकै सबैभन्दा प्रभावशाली खेलको रुपमा पुनः स्थापित ग¥यो र यो निरन्तर अगाडि बढ्नेछ ।