मनोरञ्जन

शाकी, सराब र मयखाना

बिपुल सिजापती
फ्लोरिडा, अमेरिका

अमेरिका घुम्ने क्रममा हामी न्यू ओर्लेन्स पुगेका थियौं । साँझ म र मेरो सालाबाबु घुम्न भनेर निस्कियौं । मेरो सालाबाबु क्यासिनोमा जाने भए । मलाई क्यासिनोको भिडभाड त्यति मन नपर्ने भएकोले म भने क्यासिनो अगाडिको एउटा बारमा छिरें । भित्र मधुरो उज्यालो छरिएको थियो । न्यू ओर्लेन्स पहिले फ्रेन्चहरुको कोलोनी भएकाले यहाँ ज्याज म्युजिकको ठूलो प्रचलन छ, र भित्र यही ज्याज म्युजिक बजिरहेको थियो । मलाई सहयोग गर्न एक ठिटा आइपुग्यो । उनले मेरो चाहना सोधे र मलाई बारको कुनाको एउटा टेबलमा लगे ।


परिचयका क्रममा ती ठिटाले आफ्नो नाम नबीद बतायो । एक पर्सियन अमेरिकन वेटर, जो कलेजमा पढ्दै रहेछ । कलेज खर्च जुटाउन उनले बारमा काम गरेको जानकारी दिए । नबीद एक रसिला युवक हुन्, उनलाई पर्सियन इतिहास र साहित्यको बारेमा राम्रो ज्ञान रहेछ । यही कुरा मेरो लागि आकर्षक हुन गयो र हाम्रो कुराकानी शुरु भयो । मैले पिउन लागेपछि नबीद बेलाबेलामा आएर के–कस्तो छ भनेर सोध्ने गर्थे ।

नबीदसँग लामै कुरा गर्न मन लागिरहेको थियो तर उसको ड्युटी आवरमा कुरा गर्न सकिएन । नबीदले काम सकिएपछि कुरा गर्ने बाचा गरे । ९ बजे नबीदको काम सकियो, मैले उनलाई एउटा ड्रिङ्क अफर गरें । उसले धन्यवाद दियो । हामी पिउन लाग्यौं, उसले कुरा शुरु ग¥यो । नबीदका हजरबुवा अमेरिका आएर बसेका रहेछन् । नबीद पर्सियन जोरास्ट्रियन हुन् । कलेज पढ्दै गरेका उनले फी जुटाउन काम पनि गर्दो रहेछ । मैले रक्सीको बारेमा नबीदसँग कुराकानी गर्न थालें ।
नबीदले भने, ‘वास्तवमा मान्छेलाई रक्सी पिउन नै आउँदैन ।’
‘मतलब !’


‘रक्सी पिउनु पनि एक कला हो, जसरी आफ्नो मनको कुरालाई कलात्मक तरिकाले शेरमा प्रकट गर्ने गरिन्छ । रक्सीलाई पनि त्यस्तै कलात्मक तरिकाले पिउनुपर्छ’, नबीद पिउने तरिका बताउँदै थिए– ‘मलाई यताका, या भनौं मानिसहरुले जसरी पिउने गर्छन्, या हामी जसरी पिउँदै छौं, त्यो मन पर्दैन । वास्तवमा हामीलाई पिउन नै आउँदैन । रक्सी त एक्लै या साथीभाइसँग पिउने कुरा नै हैन । रक्सी त वास्तवमा मयखानामा पिउने कुरा हो, त्यसको मज्जा नै छुट्टै छ । कलात्मकता त त्यहाँ हुन्छ ।’

शाकी अम इमरुज मागु मय नदाब
नकाब अज चेहरह बरदार सराब अज लव दहाद

‘आज रक्सी दिन्न भनेर अस्वीकार नगर शाकी
नकाब मात्रै हटाइदेऊ मुखबाट, शराब त ओंठबाट नै बग्ने छ ।’
नबीदले फारसी शेरसहित आफ्नो कुरा राख्यो, म सोच्न थालें । सभ्यताको शुरुवात गर्ने देशका नबीद रक्सी र गजलका बारेमा पनि जानकारी राख्दा रहेछन् । सराब (अंगुरको) त सुमेर सभ्यताकै देन हो, अझ त्योभन्दा अगाडि भिर माहुरीको महबाट बन्ने मिड पनि त्यहीँबाट शुरु भयो भने, पिउने कला पनि त्यहीँबाट शुरु भयो भन्ने मान्न के आश्चर्य !


‘त कुरा के भने,’ नबीदले भन्न शुरु ग¥यो, ‘रक्सी पिउने मान्छे तीन प्रकारका हुन्छन् । पहिलो एक्लै पिउने मान्छे, एक्लै बसेर रक्सी पिउने मान्छे या त नौसिखिया हो, या त दुखी, या त उसलाई रक्सी पिउन आउँदैन, या त कुनै घोर दुःख बिर्सन ऊ एक्लै पिउँछ । यस्ता मानिसले पिएको रक्सीको कुनै अर्थ छैन ।’
‘मतलब एक्लै पिउनुको कुनै अर्थ छैन, जो म अगाडि गरिरहेथें !’
‘हो, वास्तवमा म मनमनै हाँसिरहेथें, मलाई माफ गर्नुहोला ।’
‘हैन ठिकै छ ।’


‘नौसिखियाको त के कुरा गर्नु र ! दुःखीको कुरा गर्ने हो भने वास्तवमा त्यतिबेला ऊसँग उसको दुःख मात्र हुन्छ । उसको रक्सीमा केवल दुःख घुलिएको हुन्छ, त्यस्तो रक्सीमा के स्वाद हुन सक्छ र ! न त त्यसले दिने नशामा नै कुनै असर हुन्छ, त्यो बेकारको पियाई हो ।’


‘अनि अगाडिको शेरको कुरा यहाँ कहाँ जोडियो त ?’ मैले प्रश्न गरें ।
‘म आउँदै छु, त्यो शेर मैले कुराकानीमा तपाईंको जिज्ञासा बढाउन मात्र भनेको थिएँ, तर हाम्रो कुराकानीसँग त्यो सम्बद्ध पनि छ ।’
‘कसरी ?’


‘त्यो म भन्दैछु,’ नबीदले मलाई फेरि पर्खायो, मेरो जिज्ञासा फेरि बढायो, ‘अब दोस्रो तरिकाको कुरा गरौं, त्यो भनेको अहिले हामी जुन तरिकाले पिइरहेका छौं– त्यो तरिका । कुनै साथीभाइसँग बसेर पिउनुमा आनन्द त छ तर त्यो पनि कलात्मक रक्सी पियाई भने हैन ।’
‘यो कुन प्रकार हो त ?’ मैले प्रश्न गरें ।


‘यसरी पिउँदा केही आनन्द पाइन्छ, मनको कुरा खोल्न पनि सकिन्छ, आफूसँग भएको दर्द बाँड्न पनि सकिन्छ, तर त्यो क्षणिक हो । केही मन हलुका भएको महसुस त हुन्छ, तर केही समयपछि फेरि मनलाई उही दुःखले घेर्छ । मानौं, पोखरीमा ढुङ्गा हान्दा तरङ्ग फैलिएर टाढा भए जस्तो, जुन पछि फेरि त्यही ठाउँमा आइपुग्छ । यो पनि रक्सी पिउने कलात्मक तरिका भने हैन ।’
‘त्यसो भए कलात्मक तरिका भन न त !’ मैले धैर्य गर्न सकिन ।
‘म भन्दैछु,’ उसले मलाई झन् अधीर बनाउँदै भन्यो, ‘रक्सी त वास्तवमा मयखानामा पिउनु पर्छ ।’
‘मयखानामा !’


‘हो मयखानामा, शाकीका उन्माद भरिएका हातले बोकेको सुराहीबाट जब सागरमा (प्यालामा) शराब खस्न थाल्छ, तब त्यो शराब खस्दै गरेको धारमा छुट्टै प्रकारको बिजुली (करेन्ट) हुन्छ, त्यसका प्रत्येक बुन्दमा प्यास हुन्छ, प्रत्येक चुस्कीमा तृप्तता हुन्छ । शाकीले सराब ल्याउन्जेलको पर्खाइमै पनि एक प्रकारको मस्ती (रोमाञ्च) उत्पन्न भइसकेको हुन्छ ।’

‘नकआब अज चेहर बरदार–ए–नजर
के मसतम अज शराब–ए– इन्तेजर’

‘गजबको कुरा भन्यौ नबीद ! कहाँबाट सिक्यौ ?’
नबीद मुसुक्क मुस्कुरायो, उसलाई आफनो सभ्यता र संस्कृतिप्रति गर्व लागिरहेको थियो । तर, उसका आँखामा केही उदासी पनि थिए, ती उदासीको कारण म बुझ्दथें, यसैले मैले त्यो कोट्याउन चाहिन ।


‘यसैले म भन्छु, मयश्शर त मयखानामा नै पिउनु पर्छ ।’
‘अनि त्यहाँ पिउँदा कलात्मकता कसरी हुन्छ त ?’


‘अब एकछिन आँखा चिम्लेर कल्पना गर्नुहोस् त ! तपाईं एक मयखानामा शराबको पर्खाइमा हुनुहुन्छ, तपाईंभित्र शराबको एक प्रकारको प्यास छ, शराब आइपुगेको छैन, प्रतीक्षामा तपार्इं अधीर हँुदै जान लाग्नु भएको छ । त्यसैबेला एक बैंशले उन्मुक्त सुन्दरी शाकी देखिन्छिन्, उनको अनुहारमा एक जालीदार नकाब छ, जुन दाहिने आँखाको कुनाबाट बायाँ आँखालाई बीचमा पारेर तीस डिग्रीको एङ्गलमा खुलेको छ ।

उनका दुई कसिला वक्षको अर्ध चन्द्राकार क्लिभेज यस्ता लाग्दछन्, मानौं ती दुवै स्वतन्त्रताका लागि एकअर्कासँग युद्ध गरिरहेका छन् । उनको कम्मर त्यतिकै अर्धचन्द्राकार काटिएका छन् जति सुराहीको कम्मर काटिएका छन् । उनी गजाला (मरुभूमिको मृग)को जस्तै चाल गरेर तपार्इंको सामुन्ने आउँछिन्, तपाईंको अगाडि झुकेर सागर राखिदिन्छिन्, सुराहीबाट मय खन्याउँछिन् र भरिदिन्छिन् । उनी सोझो हुन्छिन्, उनको वक्षमा अड्किएका तपार्इंका आँखा उनको आँखासँग जोडिन्छ, उनी एक कातिलाना मुस्कान (ज्यानै हर्ने मुस्कुराई) दिँदै तपाईंका आँखामा हेर्छिन्, त्यो क्षण कति कलात्मक हुन्छ ?’


नबीद आफंै भावविभोर भयो, ऊ केही क्षण रोकियो, ऊ रोकिउन्जेल म पनि भावविभोर भएर रोकिएँ । मलाई नबीदका कुराले वास्तवमै त्यही पु¥याइदिएको थियो, म त्यही दृश्य कल्पिरहेको थिएँ, जुन नबीदले वर्णन गरिरहेको थियो ।
केही क्षण रोकिएर नबीदले फेरि भन्न थाल्यो, ‘जब तपाईं कृतज्ञताले भरिएको नजरले शाकीलाई हेर्नुहुन्छ, तब शाकी फर्किन्छिन्, फर्किंदा तपाईंको नजर उनको कम्मरमा परेका दुई खोबिल्टामा (डिम्पल अफ भेनिस) पर्ने छन् । ती दुई खोबिल्टा तपार्इंलाई संसारकै नायाब हीरा जस्ता लाग्नेछन्, ती दुई खोबिल्टा तपाईंलाई सत्यको दर्शन गराउने, सत्य चिनाउने आँखा जस्ता लाग्छन् ।’

शाकी चो शराब दाहाद दील–वे–बराद
अज चश्म–ए–नकाब राजहा सर बराद

‘जब साकीले मदिरा दिँदै जान्छिन् तब मन हराउँदै जान्छ, नकाब लगाइएका आँखाबाट रहस्यहरु खुल्दै जान्छ’

त्यतिबेला तपाईं साकीलाई बिन्ती गर्न चाहनु हुन्छ–

साकी बेदे आन मय के नकब अज रोख बरद
ता सर–ए–हकिकत बे दील–ए–मा रसद

‘साकी त्यस्तो सराब दिनु जसले नकाब हटाई देओस्
ताकी सत्यको सार हाम्रो दिलसम्म आइपुगोस् ।’

नबीदले आफ्नो कुरा राखेर चुप लाग्यो, म उसले डो¥याएको कल्पना लोकमै हराइरहेको थिएँ, तबसम्म हराइरहें जबसम्म नबीदले घाँटी सफा गर्न आवाज निकालेन । मैले नबीदको अनुहारमा हेरें, उसको अनुहार कुनै सुँफी सन्तको भन्दा कम चम्किलो थिएन ।
‘अब भन्नुस् त, त्यो रक्सी कस्तो होला ! त्यसको पियाई कस्तो होला ! मलाई त के लाग्छ भने त्यो सागर जब उठाइन्छ त्यो उठाई नै आफैंमा एक कला हो, जब तपाईंका ओंठले सागरको किनारा छुन्छ तब तपाईं कुनै अलौकिक सत्यको नजिकमा पुग्नु हुन्छ, तपाईंलाई त्यो मयश्शर एकातिर पिउन मन लाग्छ अर्कोतिर पिएमा सकिएला कि भनेर मन खिन्न पनि हुन्छ ।

जब त्यो मयश्शरको एक थोपा तपाईंको जिब्रोमा पर्छ त्यसले अलौकिक स्वाद दिन्छ, तपाईंको आत्मालाई निन्द्राबाट ब्युँझाएर सत्यको दुनियाँमा ल्याइदिएको भान हुन्छ । तपाईंको जिब्रोले मयश्शरको एक थोपामा प्यास भेट्छ, एक थोपामा तृप्ति पाउँछ । भन्नुस् त ! के यो सराबको पियाई एक कला जस्तो छैन र ? के यस्तो प्रकारको मयश्शर पिलाईमा कलात्मकता छैन र ? अब तपाईं आफैं विचार गर्नुस्, मयखानामा साकीको हातबाट कति सागर मयश्शर पिउन सक्नुहुन्छ ?’
म नबीदको प्रश्नको उत्तर अझै खोज्दै छु, तपाईंले उत्तर पाउनु भए जानकारी गराउनु होला ।