यूएईमा नेपाली : मेहनत, अवसर र अनुभव
निश्चल दाहाल/ यूएई
यूएईको मरुभूमिमा साँझ पर्दा अबुधाबीका सडकहरु बत्तीले उज्यालो हुन्छन्, दुबईका अग्लो भवनहरु चम्किन्छन् र अल ऐनका बगैंचाले हरियाली देखाउँछन् । संसारले यस देशलाई आधुनिक र समृद्ध देशका रुपमा चिन्छ । तर, यो विकासको पछाडि लाखौं श्रमिकको मेहनत छ । तीमध्ये नेपालीहरु पनि छन् ।
धेरै नेपालीका लागि यूएई काम गर्ने ठाउँ हो । समयसँगै यो केवल रोजगारीको स्थान मात्र रहँदैन । यहाँ बसेर मानिस परिपक्व र जिम्मेवार बन्छन् ।
नेपालबाट आएका प्रत्येक नेपालीको आफ्नै कारण छ । कोही ऋण तिर्न आएका छन्, कोही छोराछोरीलाई शिक्षा दिन, कोही घर बनाउन त कोही व्यवसाय शुरु गर्न । बाहिरबाट हेर्दा उनीहरु एउटै जस्ता देखिए पनि प्रत्येकको आफ्नो लक्ष्य छ ।
सरकारी तथ्यांकअनुसार यूएईमा करिब साढे चार लाख नेपाली छन् भनिन्छ । तर, वास्तविक संख्या आठ लाखभन्दा बढी छ । रेमिट्यान्सबाट नेपालमा अर्बौं रुपैयाँ भित्रिएको छ । तर यी तथ्यांकले परिवारसँग बितेका जन्मदिन, दशैं–तिहार, आमाबाबुले छोराछोरीको पहिलो पाइला मोबाइलबाट हेरेका क्षण र केहीले अन्तिम दर्शनसमेत नपाएका अवस्था देखाउँदैनन् ।
हामी रेमिट्यान्स पठाउने मात्र होइनौं । हामी काम गर्ने मानिस हौं । यूएईप्रति हामी कृतज्ञ छौं किनकि यसले नेपालीलाई काम गर्ने अवसर दिएको छ । यहाँको नियम, समयको पालना, अनुशासन र सुरक्षाले धेरै कुरा सिकाएको छ । सफलता अनुशासन, समयपालन र निरन्तर मेहनतबाट आउँछ भन्ने बुझिएको छ ।
आज यूएईमा सडक सफा गर्ने कामदारदेखि अस्पतालका स्वास्थ्यकर्मी, होटलका कर्मचारी, इन्जिनियर, व्यवस्थापक र व्यवसायीसम्म नेपालीहरु काम गरिरहेका छन् । यहाँ ‘नेपाली’ शब्द विश्वाससँग जोडिएको छ । यो व्यक्तिगत उपलब्धि होइन, वर्षौंदेखि इमानदार भएर काम गर्ने नेपाली समुदायको सामूहिक सम्मान हो ।
यूएईले रोजगारीसँगै आत्मविश्वास पनि दिएको छ । विभिन्न भाषा र संस्कृतिका मानिससँग काम गर्ने अनुभव भएको छ ।

तर संघर्ष पनि छ । दिनभर काम गरेर लेबर क्याम्पमा फर्कने कामदार, छोराछोरीबाट टाढा बस्ने आमा र रातभर ओभरटाइम गर्ने युवाले कठिनाइ भोगिरहेका छन् । यी कथाहरु समाचारमा आउँदैनन् तर यिनैले धेरै नेपाली परिवारको भविष्य बनाइरहेका छन् ।
प्रवासमा आमाको खाना, गाउँको वातावरण, साथीभाइसँगको चिया र चाडपर्वको महत्व बढी महसुस हुन्छ । त्यसैले अपरिचित नेपाली भेट्दा पनि नजिकको मान्छे जस्तो लाग्छ । ‘नमस्ते’ वा ‘जय नेपाल’ भन्ने शब्दले पनि सहयोग पुग्छ ।
अब सोच्नुपर्ने कुरा छ– नेपाल फर्कंदा बैंकको बचत मात्र ल्याउने कि यहाँ सिकेका बानीहरु पनि ? समयको सम्मान, कामप्रतिको इमानदारी, सफाइ, नियम पालना, प्रविधिको प्रयोग र सिक्ने बानी नेपालका लागि उपयोगी हुन सक्छन् । हामीले पठाएको रेमिट्यान्सले परिवार र नेपालको अर्थतन्त्रलाई सहयोग पु¥याएको छ । साथै, नेपालीको इमानदार छवि बनाउन मद्दत गरेको छ ।
थकित अनुहार लिएर फर्कने नेपालीहरुको मेहनत देखिन्छ । उनीहरु घर र परिवारको सम्झना राखेर काम गरिरहेका छन् । यूएईको बालुवामा बगेको पसिना सुक्ला तर काम र अनुभव बाँकी रहन्छ ।
यो देशप्रति सम्मान र कृतज्ञता छ किनकि यसले अवसर र सुरक्षित वातावरण दिएको छ । नेपालप्रतिको सम्बन्ध भने कम हुँदैन किनकि अन्तिम गन्तव्य त्यही हो । हामी जहाँ छौं, जुनसुकै काममा छौं, आफ्नो परिवार र नेपालको प्रतिनिधि भएर बाँचिरहेका छौं ।
यूएईमा काम गरिरहेका सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई सम्मान । अवसर दिने संयुक्त अरब इमिरेट्सप्रति कृतज्ञता ।