समाचार

हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी

The rubble and debris of flattened buildings litter the hillside following an Israeli airstrike that targeted a neighborhood in the southern Lebanese village of Nabatieh al-Fawqa on August 15, 2026. Lebanese state media said an Israeli strike in the country's south on August 15, killed seven people and wounded three others, the worst toll since deals in June saw a lull in hostilities between Israel and Hezbollah. Hezbollah drew Lebanon into the Middle East war in March with rocket fire at Israel in support of its backer Iran. Israel responded with heavy airstrikes and a ground invasion that Lebanese authorities say have killed more than 4,300 people. (Photo by AFP)

जेरुसेलम, १ भदौ, (रासस–एएफपी) । इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ । यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ । उक्त आक्रमणमा बालबालिकासहित ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।
इजरायली अधिकारीहरूका अनुसार शनिबार दक्षिणी लेबनानमा गरिएको आक्रमण जुनमा युद्धविरामसम्बन्धी समझदारी भएयताकै सबैभन्दा घातक हो । इजरायलले उक्त कारबाही हिजबुल्लाहले दक्षिणी लेबनानको तथाकथित ‘सुरक्षा क्षेत्र’ मा विस्फोटक ड्रोन प्रहार गरेपछि गरिएको जनाएको छ । ड्रोन आक्रमणमा एक अधिकृतसहित तीन इजरायली सैनिक गम्भीर घाइते भएका थिए ।


“कुनै पनि क्षेत्रमा हिसाबकिताब बाँकी राखिने छैन । हामी हाम्रा सैनिक र नागरिकको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौँ”, इजरायली रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् । इजरायली सेनाले शनिबार मारिएका व्यक्तिमध्ये अबु हसन अलाको पहिचान गर्दै उनी हिजबुल्लाहको ‘बद्र’ एकाइका वरिष्ठ कमाण्डर रहेको जनाएको छ । सेनाका अनुसार उनी इजरायली सैनिकमाथि ड्रोन आक्रमण गर्ने योजनामा सङ्लग्न थिए ।


यसअघि इजरायलले उक्त आक्रमणमा हिजबुल्लाहको विशेष ‘रडवान फोर्स’का कमाण्डर अली समीर अल–हाज हसन पनि मारिएको जनाएको थियो ।
इजरायली सेनाले हसनका परिवारका सदस्यहरू घटनास्थलमा उपस्थित रहेको स्वीकार गरे पनि उनीहरू आक्रमणको लक्ष्य नभएको भन्दै कारबाहीको बचाउ गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले अन्सार गाउँमा भएको आक्रमणमा पूरै परिवार मारिएको बताएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये तीन बालबालिका र दुई महिला छन् ।


लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजक इमरान रिजाले आक्रमणको निन्दा गर्दै नागरिक र बालबालिकाको सुरक्षा गर्नुपर्ने बताए । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले हिजबुल्लाहले नागरिकलाई जानाजानी जोखिममा पारेको आरोप लगाएको छ । हिजबुल्लाहले उक्त आरोप अस्वीकार गर्दै आक्रमणका लागि नेतान्याहुलाई जिम्मेवार ठहर गरेको छ ।


इजरायल र हिजबुल्लाहबीचको तनाव अमेरिकी मध्यस्थतामा भएको समझदारीपछि केही घटेको भए पनि दक्षिणी लेबनानमा बेलाबेलामा हिंसात्मक घटना भइरहेका छन् । समझदारीअनुसार इजरायली नियन्त्रणमा रहेका दक्षिणी क्षेत्रको सुरक्षाको जिम्मेवारी लेबनानी सेनाले क्रमशः सम्हाल्ने व्यवस्था गरिएको छ । तर हिजबुल्लाहले निः शस्त्रीकरण गर्न अस्वीकार गर्दै आएको छ ।