याङ्गुनमा हैजाको प्रकोपः सयौँ अस्पताल भर्ना
याङ्गुन, म्यान्मा, २ भदौ (रासस–एएफपी) । म्यान्माको सबैभन्दा ठूलो शहर याङ्गुनमा गम्भीर पखालाका कारण ५०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् भने करिब १५० जनामा हैजाको भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीले सोमबार बताएका छन्। पाँच वर्षभन्दा बढी गृहयुद्धपछि म्यान्माको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर अवस्थामा छ जसमा एक लाखभन्दा बढी मानिस मारिएको अनुमान छ र अर्थतन्त्र पनि निष्क्रिय छ ।
“अगस्ट ९ देखि करिब एक हप्ताको समयमा ५०० जना पखालाका कारण अस्पताल भर्ना भएका छन् जुन हैजाको मुख्य लक्षण हो,” क्षेत्रीय सामाजिकमामिला मन्त्री बो ह्यतेले बताए । हैजाको शङ्कास्पद पहिलो विरामी अस्पताल भर्ना भएको एक हप्ताभन्दा बढी समयपछि हैजा सङ्क्रमण भएको आधिकारिक पुष्टि भएको हो । हैजाका लागि गरिएका द्रुत परीक्षणमा सोमबार १४९ जनामा सङ्क्रमण पुष्टि भएको उनले प्रादेशिक संसदलाई बताउनुभयो । देशको सबैभन्दा ठूलो शहर याङ्गुनमा हैजाको समस्या हुनुलाई बर्षामा खानेपानीको शुद्धतासम्बन्धी समस्यासँग हेरिएको छ।
भर्ना भएका विरामीमध्ये नौ जनालाई राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले आधिकारिक रूपमा ‘भाइब्रियो कोलेरे केस’ का रूपमा पुष्टि गरेको उनले बताए । हैजा दूषित खाना वा पानी सेवनबाट हुने गम्भीर पखालाको संक्रमण हो जसको उपचार नगरे केही घण्टामै ज्यान जान सक्छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरा र असमानता तथा सामाजिक–आर्थिक विकासको अभावको सूचक’ भनेर वर्णन गरेको छ।
गत बिहीबार एक सयभन्दा बढी नयाँ बिरामी अस्पताल भर्ना भएका थिए तर त्यसपछि नयाँ सङ्क्रमण दर घटेको मन्त्री ह्यतेले बताए । एक ९२ वर्षीय बिरामी पखाला लागि अस्पताल भर्ना भएपछि मृत्यु भएको खबर सार्वजनिक भएपछि आइतबार राज्यसञ्चालित ‘ग्लोबल न्यू लाइट अफ म्यान्मा’ पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै उक्त व्यक्ति अन्तर्निहित मुटु र फोक्सोको समस्याले मृत्यु भएको बताएको छ ।
स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा ‘महामारी निगरानी र प्रकोप नियन्त्रण उपाय’ का लागि सङ्घर्ष गरिरहेका अधिकारीहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ।