समाचार

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ काठमाडौं, ३१ साउनः टप एण्ड टी–२० सिरिजमा सहभागिता जनाउने नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीलाई आइतबार बिदाइ गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहलगायत । यसपटकको टप एण्ड टी–२० सिरिज यही २१ अगस्टदेखि अष्ट्रेलियामा आयोजना हुँदैछ। तस्बिरः लोकेश धामी/रासस

काठमाडौँ, ५ भदौः नेपाल ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा पहिलो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्न लागेको हो । खेल आज अपराह्न २ः१५ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा नेपालको सिनियर टोलीले यस प्रतियोगितामा सहभागिता जनाएको थियो । जहाँ नेपालले लिग चरणको छमध्ये चारमा हार तथा दुई खेलमा मात्र जित निकालेको थियो ।

लिग चरण पार गर्ने लक्ष्य

यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरण पुग्ने लक्ष्य लिएको छ । सोही कारण नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीका केही महत्त्वपूर्ण खेलाडीलाई अष्ट्रेलिया पठाएको छ । क्यानले कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, गुलशनकुमार झाजस्ता सिनियर टोलीका लागि पटकपटक खेलिसकेका खेलाडी ‘ए’ टोलीमा समावेश छन् ।

उनीहरूमध्ये अधिकांश खेलाडीले गत संस्करणको टप एन्ड टी–२० सिरिज पनि खेलेका थिए । एनटी स्ट्राइकविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । गत सिजनमा भएको त्यस खेलमा एनटी स्ट्राइकविरुद्ध नेपाल ४२ रनले पराजित भएको थियो । यसपालि नेपाल ‘ए’ सामु त्यो प्रदर्शनमा सुधार गर्ने मौका छ ।