समाचार

बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

नुवाकोट, ११ भदौ ः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण क्षति पुर्‍याएको नुवाकोटको त्रिशुली देवीघाट बजारका घर तथा संरचना । तस्बिर : किरणराज बिष्ट÷रासस


काठमाडौँ, ११ भदौः सयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै राजा चाल्र्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।


“अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकार्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ र उद्धार प्रयासमा निःस्वार्थ रूपमा खटिनुभएका सबैप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ”, उनको सन्देशमा उल्लेख छ । प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चाल्र्सले सधैँझैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको उल्लेख गरेका छन् ।