समाचार

अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी

FILE - A man rides a bike as fires and plumes of smoke rise after debris from an intercepted Iranian drone struck an oil facility, according to authorities, in Fujairah, United Arab Emirates, March 14, 2026. (AP Photo/Altaf Qadri, File)


तेहरान, १८ भदौ (रासस–सिन्ह्वा–एएफपी) । इरानको इस्लामिक ‘रिभोलुसन गाड्र्स’ ले अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु गरिसकेको जनाएको छ । इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध ‘कुचल्ने र चकनाचुर पार्ने’ गरी कडा प्रहार गर्ने चेतावनी दिएको छ । इरानी सैन्य सङ्गठनका अनुसार, उसको वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ । त्यसैगरी, इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
इरानले अमेरिकाले मंगलबार दक्षिणी क्षेत्रमा गरेको हवाई हमलापछि प्रतिकार सुरु गरिएको जनाएको हो । इरानी पक्षका अनुसार उक्त अमेरिकी हमलामा ५४ जनाभन्दा बढी मानिस मारिएका तथा घाइते भएका छन् । अर्धसरकारी समाचार संस्थाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै होर्मोजगान प्रान्तको सिरिक जिल्लामा भइरहेको विवाह समारोहलाई लक्षित गरी गरिएको अमेरिकी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला रहेको तथा ५० भन्दा बढी मानिस घाइते भएको बताइएको छ ।


अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरेको घोषणा गरेपछि मंगलबार साँझ दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । होर्मोजगान, सिस्तान तथा बलुचिस्तान, केरमान र बुशेहर प्रान्तका विभिन्न स्थानमा विस्फोट भएको खबर आएको छ । कोनाराक तथा क्युशम द्वीप आसपास पनि धेरै विस्फोट भएको बताइएको छ । यद्यपि, ती विस्फोटको वास्तविक स्थान र कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

इरानको मुख्य सैन्य कमाण्डले अमेरिकी ‘हवाई आक्रमण’ को जवाफमा आफ्ना सशस्त्र सेनाले अमेरिकाविरुद्ध निर्णायक र कडा प्रहार गर्ने जनाएको छ ।
यसैबीच, अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले सामाजिक सञ्जालमार्फत इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरिएको पुष्टि गरेको छ । उसका अनुसार, हालै इरानी सैन्य संगठनले होर्मुज जलडमरूमध्यमा व्यावसायिक पानीजहाज तथा मध्यपूर्व क्षेत्रमा तैनाथ अमेरिकी सैनिकमाथि आक्रमणको प्रयास गरेपछि पछिल्लो सैन्य कारबाही गरिएको हो ।