विश्व

अमेरिकी प्रतिनिधिहरू किएभमा, राष्ट्रपति जेलेन्स्कीसँग छलफल


किएभ, २२ भदौ (रासस–एएफपी) । अमेरिकी प्रतिनिधि जारेड कुश्नर र स्टिभ विट्कफले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुससँगको युद्ध अन्त्य गर्ने सम्बनधमा वार्ता गरेका छन् । उनीहरूले शनिबार रुसका भ्लादिमिर पुटिनसँग भेटेपछि किएभको भ्रमण गरेका हुन्।

अमेरिकीहरूले ग्रीष्मकालीन तनाव बढेपछि दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा खराब द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्ने आशामा रूसबाट रेलमार्ग हुँदै युक्रेनी राजधानी किएभ पुगेका थिए । नेता जेलेन्स्कीले किएभको मध्य क्षेत्रमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ कुश्नर र व्यापारिक साझेदार विट्कफसँग भेटको भिडियो सार्वजनिक गर्दै ‘वार्ता सुरु भएको बताएका छन् ।
विट्कफ र कुश्नरले मस्कोकोे आठ पटक भ्रमण गरेका थिए तर रुसको फेब्रुअरी २०२२ आक्रमणपछि घातक प्रहार खेपेको किएभमा यसभन्दा पहिले वार्ताका लागि पुगेका पाइदैन । वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारी र वार्ताकारहरूका साथै केही युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए।

जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूलाई किएभको ऐतिहासिक सेन्ट सोफिया क्याथेड्रलको अवलोकन भ्रमणमा साथ दिनुभएको थियो, जसको अगाडि शुक्रबार रुसी ड्रोन प्रहारबाट क्षतिग्रस्त एसबीयू सुरक्षा भवन छ। मस्कोको युक्रेन आक्रमणले लाखौँ मानिसको ज्यान लिएको छ र करोडौँलाई विस्थापित बनाएको छ।

विट्कफ र कुश्नरले शनिबार पुटिनसँग ‘रुस–युक्रेन युद्धमा शान्तिका लागि राष्ट्रपति ट्रम्पको एजेन्डा अगाडि बढाउन’ भेट गरेको ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा उल्लेख छ । दुवै पक्षले आगामी कदमका लागि ठोस योजनाहरूबारे छलफल गरेका छन्, जुन आउँदा हप्ताहरूमा घोषणा गरिनेछ र भोलि युक्रेनी अधिकारीसँग पनि उत्तिकै उत्पादक भेटघाटको आशा गरिएको छ।”

क्रेमलिनका सहायक युरि उशाकोभले वार्तालाई ‘अत्यन्तै खुला’ बताउँदै अमेरिकीहरूले ‘सम्झौताका सम्भावित मार्गहरूबारे केही विचार अगाडि सारेका’ तर विस्तृत जानकारी नदिएको बताए । रुसी पक्षले अमेरिकीहरूलाई मस्कोले पूर्वी युक्रेनको बाँकी भाग कब्जा गर्ने आफ्ना सैन्य लक्ष्य हासिल गर्न ‘आत्मविश्वास’ राखेको बताएको उशाकोभले थपे ।


रुस र युक्रेन दुवैले अमेरिकी प्रतिनिधिहरूको भ्रमण वरिपरिका तीन दिनसम्म एकअर्काको राजधानीमाथि प्रहार नगर्ने प्रतिबद्धता जनाएका छन्।
जेलेन्स्कीले आइतबार युक्रेन ‘वार्ताका लागि तयार’ रहेको बताए । “युक्रेन सधैँ रचनात्मक रहँदै आएको छ र रहिरहनेछ,” नेता जेलेन्स्कीले अमेरिकी कुटनीतिज्ञको भ्रमणअघि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


मस्कोले युद्ध सुरु गरेदेखि देशको हवाई क्षेत्र बन्द छ र भ्रमणमा आउने नेताहरू रेलबाट आइरहेका छन्। धेरै युक्रेनीहरूका लागि सफलताको आशा अझै कमजोर छ। “अहिले यसले मलाई कुनै आशा दिँदैन। पहिले नै धेरै वार्ता भइसकेका छन्,” किएभवासी २९ वर्षीय यारोस्लाभले एएफपीसँग भने ।

–ट्रम्पलाई धन्यवाद–

अमेरिकी प्रतिनिधिसँगको वार्ताअघि टेलिभिजनमार्फत रूसी राष्ट्रपति पुटिनले रुसले किएभमा प्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्ने बताएका थिए । “वार्ता प्रक्रिया र तपाईंहरूजस्ता मध्यस्थकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न हामीले गर्न सक्ने सबै कुरा गर्नेछौँ,” पुटिनले विट्कफ र कुश्नरसँगको भेटमा भने । शनिबार अघि राष्ट्रपति पुटिनले युद्ध अन्त्य गर्न ‘सजिलो नभए पनि’ प्रयास जारी राखेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए ।

प्रतिनिधिहरूको किएभ यात्राबारे उनले भने, “अगाडि जे भए पनि, यस्ता सम्पर्कहरू निःसन्देह सधैं लाभदायक हुन्छन्।” ट्रम्पले शुक्रबार आफ्ना प्रतिनिधिहरू लडाइँ अन्त्य गर्ने ‘प्रस्ताव’ लिएर जाँदै गरेको बताएका थिए । “हामीसँग शान्तिका लागि एउटा विचार छ,” उनले विस्तृत जानकारी नदिई भने ।


अमेरिकी प्रयासहरूले अहिलेसम्म युद्धमा सफलता ल्याउन सकेका छैनन् र शान्ति प्रयासहरू अवरुद्ध भएका छन्, जसको आंशिक कारण वासिङ्टनको इरानसँगको युद्ध पनि हो। रुसले पूर्वी र दक्षिणी युक्रेनका ठूला भागहरू कब्जा गरेको छ र नेता पुटिनले मस्को पूर्वी युक्रेनको बाँकी भाग कब्जा गर्न दृढ रहेकोबारे जोड दिएका छन् ।