एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री
नागोया, ३ असोज (रासस–सिन्ह्वा) । अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी)की अध्यक्ष क्रिस्टी कोभेन्ट्रीले महादेशीय खेलकुदले ओलम्पिक अभियानसँगको सम्बन्ध थप सुदृढ गर्दै ओलम्पिक खेलकुदमा योगदान पु¥याउने दिशामा अघि बढ्नुपर्ने बताएकी छिन् । सन् २०२६ को आइची–नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । पेरिस ओलम्पिकमा भने ३२ खेल समावेश थिए । एसियाली खेलकुदमा १७ हजारभन्दा बढी खेलाडी तथा अधिकारी सहभागी हुँदैछन् । खेलको सङ्ख्या र संरचनालाई लिएर एसियाली खेलकुदलाई थप व्यवस्थित र ओलम्पिकसँग नजिक बनाउने विषयमा बहस भइरहेका बेला कोभेन्ट्रीको यस्तो धारणा आएको हो ।
“महादेशीय खेलकुदसम्बन्धी निर्णय सम्बन्धित महादेशले नै गर्नुपर्छ । महादेशीय सङ्घहरूको आफ्नै स्वायत्तता हुन्छ । तर भविष्यमा महादेशीय खेलकुदले ओलम्पिक अभियानमा कसरी योगदान पु¥याउन सक्छ भन्ने पक्षलाई अझ बलियो बनाउन आवश्यक छ”, कोभेन्ट्रीले सिन्ह्वासँगको अन्तर्वार्तामा भनिन् । उनले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले एसियाली खेलकुदलाई ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्ने प्रयास गरिरहेको उल्लेख गरिन् । यसो गर्दा एसियाली खेलकुदलाई ओलम्पिक छनोट प्रतियोगिताका रूपमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।
“महादेशीय सङ्घहरूले आफ्ना प्रतियोगिता ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्न जोड दिइरहेका छन्, ताकि तिनलाई ओलम्पिक छनोटका लागि प्रयोग गर्न सकियोस् । यो ओलम्पिक अभियानलाई सुदृढ बनाउने उत्कृष्ट माध्यम हुन सक्छ”, उनले भनिन् । यद्यपि, खेल कार्यक्रम निर्धारण गर्ने अधिकार सम्बन्धित महादेशीय निकाय र आयोजक राष्ट्रमै रहने कोभेन्ट्रीले स्पष्ट पारिन् । उनका अनुसार प्रत्येक महादेश र आयोजक राष्ट्रका खेलसम्बन्धी आफ्नै प्राथमिकता हुने भएकाले कार्यक्रम निर्धारण गर्दा विभिन्न पक्षबीच सन्तुलन आवश्यक हुन्छ ।
कोभेन्ट्री शुक्रबार साँझ नागोया पुगेकी थिइन् । शनिबार उनले मुख्य मिडिया केन्द्रमा एसियाका आईओसी सदस्यहरूसँग भेट गरिन्, मुख्य प्रेस केन्द्र तथा अन्तरराष्ट्रिय प्रसारण केन्द्रको अवलोकन गरिन् । उद्घाटन समारोहप्रति उत्साहित रहेको बताउँदै उनले खेलाडीहरूलाई प्रत्यक्ष हेर्न आफू आतुर रहेको बताइन् । उनले बास्केटबल र पौडीसहित अन्य केही प्रतियोगिता अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । एसियाली खेलकुदको स्वर्ण पदक तालिकामा चीन लगातार ११ संस्करणदेखि शीर्ष स्थानमा रहँदै आएको छ । चीनको निरन्तर सफलताबारे सोधिएको प्रश्नमा कोभेन्ट्रीले चीनको प्रदर्शन आफैँमा स्पष्ट रहेको बताउँदै आगामी दिनमा पनि उसको सफलताको कामना गरिन् ।