विश्व

अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

File : An international low coast FlyDubai aircraft prepares for landing as a smoke plume rises from an ongoing fire near Dubai International Airport in Dubai on March 16, 2026. Flights were gradually resuming at Dubai airport on March 16, previously the world's busiest for international flights, the airport operator said, after a "drone-related incident" sparked a fuel tank fire nearby, as Iran kept up its Gulf attacks. (Photo by AFP) /

तेहरान, ७ असोज (रासस/एएफपी):इरानी उड्डयन क्षेत्रमा अमेरिकी प्रतिबन्ध कडा पारिनुअघि इरानको राष्ट्रिय वायुसेवा कम्पनी ‘इरान एयर’ले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको जनाएको छ । सरकारी समाचार संस्था ‘इर्ना’ (आईआरएनए)मार्फत जारी विज्ञप्तिमा ‘इरान एयर’ले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट इस्तानबुल, बाकु र नजफतर्फका उडान रोक्न वा स्थगन गर्न कुनै सूचना वा निर्देशन प्राप्त नभएको जनाएको हो ।

अमेरिकाले यसै महिनाको सुरुमा इरानी उड्डयन क्षेत्रलाई कालोसूचीमा राख्दै इरानी वायुसेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार अमेरिकी प्रतिबन्धका कारण बुधबारदेखि इरानी वायुसेवा कम्पनीलाई सञ्चालनमा कठिनाइ हुने बताए । उनले सीएनबीसीसँगको अन्तर्वार्तामा विश्वभरका इरानी वायुसेवा कम्पनी प्रभावित हुने दाबी गरे ।


इरानी उड्डयन क्षेत्र यसअघि नै विभिन्न अमेरिकी प्रतिबन्धको सामना गर्दै आएकाले नयाँ प्रतिबन्धपछि तत्काल व्यवहारमा कस्तो प्रभाव पर्नेछ भन्ने स्पष्ट छैन ।
इरानमा २७ वटा वायुसेवा कम्पनी सञ्चालनमा रहेकामा अधिकांशले आन्तरिक उडान गर्दै आएका छन् । ‘इरान एयर’ र निजी वायुसेवा कम्पनी ‘महान एयर’ अन्तरराष्ट्रिय उडान गर्ने प्रमुख दुई कम्पनी हुन् । उनीहरूले मुख्यतः छिमेकी मुलुकका साथै रुस र चीनतर्फ पनि उडान सञ्चालन गर्छन् ।

सोमबार जर्जियाले इरानी वायुसेवा कम्पनीलाई आफ्नो क्षेत्रमा उडान गर्न रोक लगाएको थियो । यसैगरी ‘महान एयर’ले टर्की सरकारको अनुरोधमा टर्कीतर्फका उडान स्थगन गरेको जनाएको छ । इराकका दुई स्रोतले एएफपीलाई बताएअनुसार अमेरिकी अर्थ मन्त्रालयको घोषणापछि बगदादले पनि इरानी वायुसेवा कम्पनीका उडान स्थगन गर्ने तयारी गरेको छ।

नयाँ प्रतिबन्धले इरानी नागरिकका लागि विदेश यात्रा तथा स्वदेश फर्कने प्रक्रिया थप जटिल हुने देखिएको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणपछि इरानको हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरिएको थियो । त्यसयता हवाई सेवा आंशिक रूपमा पुनः सञ्चालन भए पनि इरानबाट यात्रुलाई विदेश लैजाने मुख्य जिम्मेवारी इरानी वायुसेवा कम्पनीले नै सम्हाल्दै आएका छन् ।