समाचार

इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

Israeli soldiers atop an APC in northern Israel near the border with Lebanon, Saturday, March 21, 2026. (AP Photo/Ariel Schalit)


जेरुसेलम, ७ असोज (रासस–एएफपी) । इजरायलका रक्षामन्त्री इजरायल काट्जले भविष्यमा कुनै इजरायली सैनिक वा नागरिकको अपहरण भए गाजा सहरका सबै बासिन्दालाई दक्षिणतर्फ धपाइने चेतावनी दिएका छन् । सन् १९७३ को योम किपुर युद्धको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै काट्जले गाजा सहरका घर तथा पूर्वाधार ध्वस्त पार्ने चेतावनीसमेत दिए । उनले हमास र त्यसका समर्थकलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।


काट्जले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ विस्थापित गरिने र त्यहाँका घर तथा ‘आतङ्कवादी अखडा’ ध्वस्त पारिने बताए । उनले गाजा र लेबनानका सशस्त्र समूहले आफूले बुझ्ने भाषामा जवाफ पाउने दाबी गरे । गाजा सहरमा करिब ११ लाख मानिस बसोबास गर्ने नगरपालिकाको तथ्याङ्क छ । करिब तीन वर्षदेखि जारी युद्धका कारण गाजा पट्टीका अधिकांश बासिन्दा विस्थापित भएका छन् ।

इजरायली अधिकारीका अनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको हो । हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा हालसम्म ७३ हजार ९१९ जनाको मृत्यु भएको छ । उक्त तथ्याङ्कको स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन भए पनि संयुक्त राष्ट्रसङ्घलगायत संस्थाले यसलाई प्रयोग गर्दै आएका छन् ।

काट्जले इरानसँग पुनः युद्ध हुन सक्ने चेतावनी दिए । उनले आवश्यक परे इरानमा पुनः सैन्य कारबाही गर्ने र त्यहाँको सरकारलाई सत्ताच्युत नगरेसम्म अभियान जारी राख्ने बताए । इजरायल र इरानबीचको पछिल्लो सैन्य तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम र वार्तामार्फत समाधान खोज्ने प्रयास गरेका थिए । त्यसपछि इजरायलले आफ्नो सैन्य अभियान रोक्ने सहमति जनाएको थियो ।