राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
काठमाडौँ, १३ असोजः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरे । नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।
भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका थिए । उनले हालै बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरे । त्यस अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच कैयौँ विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।