समाचार

भर्चुअल जिन्दगी

बिपुल सिजापती\फ्लोरिडा, अमेरिका

१७ असोज, काठमाडौं ।

केही दिन भर्चुअल संसारलाई त्यागेर हेर्नुस्, सामाजिक सञ्जालबाट टाढा हुनुस्, फोन बन्द गर्नुस् त ! धेरै हैन १० दिनपछि फर्किनु र हेर्नुस् त ! पाँच दिनसम्म त कसैले हेक्का नै राख्दैनन् । आठौं दिन धेरै नै हिमचिम भएका र नजिककाले ‘कता गयो हँ !’ भनेर सोधखोज गर्न थाल्छन्– ‘ए ठिकै रहेछ’ भन्छन्, त्यत्ति हो । वास्तवमा हामी बाँचिरहेको दुनियाँ पनि एक किसिमले भर्चुअल दुनियाँ नै हो ।

के–के न गर्छु भन्ने, म नभए चल्दैन भन्ने सोंचले मान्छे भ्यागुतोले जस्तो छाती फुलाएर मै हुँ भन्ने, असीमित ज्ञानसागरको एक बुँद चाखेर आफूलाई सर्वज्ञ हुँ भन्ने सोंच छ भने केवल १० दिन गुप्तवास बस्नुस् त ! अरुको माया र अनुराग बिर्सेर आफ्नो चाहनालाई ठूलो ठान्ने शहरबाट विलुप्त भएर हेर्नुस् त ! तपाईंले मनमनै लिस्ट बनाएका मान्छेहरुमध्ये कतिले खोज्लान्, कतिले बिर्सेलान्, कतिले वास्ता गर्लान् ! तपाईंको सोचको ! प्रतिशत पनि सत्य स्थापना हुने छैन ।


वास्तवमा तपाईंको अनुपस्थितिमा समय रोकिएको हुँदैन, जीवन रोकिएको हुँदैन, कतै केही रोकिएको हुँदैन । तपाईंको अनुपस्थितिले कसैलाई असर गरेको हुँदैन, दुःख लाग्ने नाताले कठै भनेर बिर्सन्छन्, दुख्ने नाताले पनि समयसँगै बिर्सने कोसिस गर्छन्, पहिलेझैं आफ्नो धुरमा पृथ्वी घुमिरहन्छ । ‘म बिना या म भइन भने…’ भन्ने साेंचले यहीँ आत्महत्या गर्छ । हो, सम्झनेका आँखा केहीबेर रसाए होलान्, बिर्सनेका लागि बहाना भयो होला, चित्त दुखाएकाले बाडुल्कीमा सम्झे होलान्, चित्त कुँडाएकाले सरापेर केही लेखे भने होलान्, तर ! समय भने फेरि पनि चलिरहेकै हुन्छ ।


सबै अरुलाई आफ्नो रुप, बैंश, धन, बौद्धिकता, उपलब्धि, सीप देखाउन आतुर छन् । दानी, धर्मात्मा देखाएर सबै चर्चित र प्रशंसित हुन आतुर छन् । अरु केवल माध्यम हुन्, साधन हुन्, मनोरञ्जनको खेलौना मात्रै हुन्, कसैको अनुपस्थितिले केवल एक लाइक मात्रै घट्ने हो, एक जोर थपडी मात्रै नबज्ने हो । जिन्दगी पनि यस्तै हो, यही नै हो ।

तपाईं हामी केवल एक मैनबत्ती हौं, सलेदो र मैन छउन्जेल हामी बलिरहन्छौं, हाम्रो ताप र प्रकाश अरुले उपभोग गरिरहेका हुन्छन्, हामी सकिएपछि हाम्रो रिक्त स्थान परिपूर्ति गर्ने कोही अर्को भइसकेको हुन्छ, अर्को खोजिसकिएको हुन्छ, ठाउँ खाली जाँदैन । मान्छेको शरीरमा ऊर्जा छउन्जेल चारैतिर उज्यालो देखिन्छ र यो मलिन हुँदै गएपछि मान्छे आफैंमा समेटिन्छ । जंगलमा हराभरा रुखहरुका बीच डढेलोले खाएको एक्लो एक ठुन्को काठ जस्तै, वरिपरि हराभरा भए पनि आफंै भने सकिएको काम नलाग्ने !


बुद्धि परियार भन्थे, ‘सर, यो मेटालिक साउण्डमा आत्मा छैन, मन छुँदैन, अनुभूति उब्जाउँदैन ।’ हो, धातुका आवाज कर्कश हुन्छन्, काठ र छालाका मादलका आवाजमै आत्मा हुन्छ । भर्चुअल दुनियाँमा रमाउने साधन फाल्दा बिहान उठ्नेबित्तिकैको चराका मधुर गान मीठा सुनिनेछन्, खोलापारि वस्तु रम्घाएको आवाज पनि सुरमा लाग्नेछन्, वारि गोठालाले हकारेको तालमा लाग्नेछन्, बाख्राका म्याँम्याँ छन्दका लाग्नेछन्, भालेको डाँक छाँटका लाग्नेछन् । साँच्चै, धरातलीय सत्य जतिको मीठो रहँदैन भर्चुअल दुनियाँ ।


चाइनिजहरु भन्छन्, ‘आफंैलाई पनि केही समय देऊ ।’ साँच्चै आफैंलाई समय दिएर हेर्नु ! भागेको पलायन भएको या सक्किएको नठान्नु । भित्रका विकार फाल्नु र हेर्नु आफैंलाई उज्यालिएको अनुहारमा, त्यसैको प्रकाश बाहिर छताछुल्ल छरिनेछ ।
धेरैले देवकोटालाई पागल भने, सायद तपाईंलाई पनि भन्दा हुन्, मलाई पनि भन्दा हुन् । समझको लेक र ज्ञानको बेसी अनमेल हुनुको अर्थमा कसैलाई पागल संज्ञा दिनु या नदिनु आ–आफ्नो विचार हो, सत्य फेरि पनि अडिग रहन्छ ।

अरुको सोंच र समझभन्दा पृथक हुँदैमा सबै गलत हुँदैनन्, न त हाम्रो सोंच र समझ अनुकूल हुँदैमा सबै सही हुन्छ । सत्य यी दुवैको मध्य यतै कहीँ हुन्छ र यसलाई छाम्न नसक्दा नै मन दुख्छ । दुखेको पीडामा मान्छेले आफूले नहेरेर टेकेको कदमलाई दोष दिँदैन, टेकिन पुगेको निर्दोष काँडालाई नै दोष दिन्छ ।


यो सत्य हो, यही सत्य हो भनेर ठान्ने हाम्रो मस्तिष्कको सानो कुनाको उपज नै कति सत्य छ त्यो भन्न सकिन्न । हजारौं वर्ष अगाडिको हाम्रा पूर्खाको सत्य जे थियो त्यो अहिले असत्य भएको छ र त्यही पूर्खाको पालाको सत्य के थियो भनेर हामी खोजीनीति पनि गर्दैछौं । थोरै ज्ञान र जानकारीको आधारमै सत्य ठानेर होम्मिने र बहुलाउनेहरु पनि यहीँ छन् भने हरेक कुरालाई शंकाले हेरेर जीवन बिताउने पनि यहीँ छन् । सत्य पनि एक प्रकारले भर्चुअल नै छ ।


हेरिल्याउँदा जे सरल छ त्यो अति नै बाङ्गो छ, जे सत्य छ त्यो पूर्णतः नाङ्गो छ । हामी सरल र बाङ्गो, छोपिएको र नाङ्गोबीच कुन, के, कति सरल बाङ्गो छोपिएको या नाङ्गो छ भनेर छुट्याउने कोसिसमा आफैं भ्रमित छौं । हाम्रो सत्य र असत्य दुवै भर्चुअल छन्, हामी भर्चुअल छौं, यो संसार र जिन्दगी नै भर्चुअल छ । शून्यबाट उत्पत्ति र शून्यमै अन्त्यबीचको सारा कुरा भर्चुअल छ ।