समाचार

बाढीबाट बल्लतल्ल बाँचेका डंगोल दम्पती

कल्पना घिमिरे
न्यूयोर्क

कहिलेकाहीँ एक सेकेन्डले नै जीवन र मृत्युबीचको दूरी तय गर्ने रहेछ । एक होइन, आधा सेकेन्ड पनि जीवनमा कति महत्व हुनेरहेछ भन्ने कुरा यिनी बा आमाको भोगाइबाट सिक्न सकिन्छ । गत भदौ १० मा रसुवामा आएको बाढीबाट बाँचेर नयाँ जीवन पाएका बेत्रावतीका डंगोल दम्पतीले सायद जीवनको वास्तविक मूल्य सबैभन्दा गहिरोसँग अनुभूति गरेका होलान् । त्यस दिन बाढी आउनु आधा घण्टा अघिदेखि नै बेत्रावती बजारका टोल–टोलमा प्रहरीले माइकिङ गर्दै थियो, ‘टिमुरेबाट ठूलो बाढी आउँदैछ । सबै सुरक्षित स्थानमा जानुहोस् । बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा लैजानुहोस् ।’


बाढी आउँदैछ भन्ने सूचना पाए पनि त्यो बाढी यति भयानक होला भनेर बेत्रावतीका ७३ र ७० वर्षीय डंगोल दम्पतीले कल्पनासम्म गरेका थिएनन् । उनले मात्र होइन, त्यहाँका अधिकांश स्थानीयवासीले पनि यस्तो विनाशकारी बाढीको कल्पना गरेका थिएनन् । तर, केही समयमै आएको त्यो ‘हिमसुनामी’ले बेत्रावती बजारलाई सर्लक्कै बगाएर लग्यो । आँखै अगाडि घर, पसल, सम्पत्ति र वर्षौंको मेहनत बाढीको भेलमा हराउँदै गएको त्यो दृश्य सम्झँदा आज पनि उहाँहरुको शरीर सिरिङ्ग हुन्छ ।


त्यो दिन बाढीको सूचना त आएको थियो, तर त्यसको भयावहता कसैले अनुमान गर्न सकेन । यस्तो अवस्थामा जीवन बचाउनु नै सबैभन्दा ठूलो कुरा रहेछ भन्ने पाठ बेत्रावतीलाई त्यो बाढीले सिकायो । वर्षाको बेला कहिलेकाहीँ खोला बढ्छ भन्ने उनलाई लागेको थियो । स्थानीयवासीले पनि प्रहरीले गरेको माइकिङलाई सामान्य रुपमा लिए । कतिपय युवापुस्ता त बाढी आएको हेर्न भन्दै खोलातिरै लाग्दै थिए ।
बिहानको चिया खाएपछि छोरा योगेश र नाति सक्षम मर्निङवाकतिर कता लागे, उनलाई थाहै भएन । ‘आमा (श्रीमती) र म घरमै थियौं । आमा खाना पकाउने तयारी गर्दै थिइन् । म भने घर बाहिर बरण्डामा बसेर खोलातिर टोलाइरहेको थिएँ’, उनी त्यो बिहानको दिनचर्या सम्झँदै थिए–


‘तरकारी के पकाऊँ ? मासु बनाऊँ है ?’ भन्दै आमा पनि बरण्डामा निस्किइन् । मैले ‘खोला आउँछ भन्दैछन्, के मासु पकाउनु ? बरु छिट्टै गरेर निस्किऔं’ भनें ।
त्यतिबेला उनीहरुलाई थाहा थिएन केही क्षणमै आफूले वर्षौंदेखि देख्दै आएको त्यो खोला आफ्नो घर, आँगन र सिंगो बेत्रावती बजार नै निल्ने गरी उर्लिएर आउँदैछ भन्ने ।
नयाँ जीवन पाएर धन्य भएको महसुस गर्दै उनी आफ्नो भोगाइ सुनाउँदै थिए– ‘आमासँग गन्थन गर्दागर्दै माथिबाट खोला मडारिएर कालो मुस्लोसहित आएको देखें । त्यसपछि आत्तिएर ‘छिट्टो बाहिर निस्क’ भन्दै तल झरिहालें । म तल पुगिसक्दा आमा आइपुगेकै थिइनन् । ‘छिट्टो आऊ’ भन्दै चिच्याउँदै म भागेर सडकको पर पुगेछु ।’


आमा छिट्टो हिँड्न सक्दिनन् । मिर्गौला प्रत्यारोपण गरेकी बिरामी भएकाले अलिकति छिटो हिँड्दा पनि उनलाई गाह्रो हुन्छ । सडकको अलि पर पुग्दा पनि आमालाई नदेखेपछि फेरि लिन फर्किएँ । हत्तपत्त घिसारिँदै भाग्दै गर्दा खै, कसैले तानेर माथि डाँडातिर पु¥याएछ । त्यतिबेला कसले तानेर माथि निकाल्यो भन्ने पनि सम्झन सकिनँ ।


‘आमाको खुट्टामा अलिकतिले मात्र लेदोले भेटेन । हामी सडकको उकालोतिर भागिरहेका थियौं, हाम्रो पछिपछि बाढी आइरहेको थियो । अहिले सम्झँदा पनि डरले जिउ काँप्छ, कहाली लाग्छ । भाग्यले बाँचिएछ भन्ने लाग्छ ।’
बेत्रावती बजारको नजिकै फलाखु खोला छ । अर्को बाढी आएको चाहिँ त्रिशुली खोला भने बजार र मेरो घरबाट पैदल करिब १० मिनेटभन्दा पर छ । त्यो टाढाको खोलाबाट बाढी आएको थियो । त्यति परबाट खोला उर्लेर आउला र सिंगो बजार नै बगाउला भन्ने त मैले सपनामा पनि सोंचेको थिइनँ ।

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस


वर्षौंदेखि आफूले बस्दै आएको सिंगो बजारलाई त्यो भेलले तहसनहस पारिदियो । थुप्रै आफन्तलाई समेत बगाएर लग्यो । भूकम्पले घर भत्किएपछि छोराले बलियो जग हालेर नयाँ घर बनाएको थियो । बेत्रावती बजारको बीचमा रहेको मेरो घरको चारैतिर घडी राखेर छोराले घण्टाघर बनाएको थियो । त्यसैले बजारमा हाम्रो घरलाई सबैले ‘घण्टाघर’ भनेर चिन्थे ।


त्यो क्षण सम्झँदा पनि मलाई गाह्रो हुन्छ । बाढीको त्यो डरलाग्दो आवाज, धुलोले छ्याप्पै छोपेर मडारिँदै आएको त्यो पहिरोजस्तो भेल, त्यसले के–कति सोरेर लग्यो, हामीले अनुमान गरेको भन्दा पनि बाहिर होला । विपद् यस्तो हुँदो रहेछ कि आँखै अगाडि मान्छे बगिरहेको देख्दा पनि केही गर्न नसकिने रहेछ । हेर्दाहेर्दै राम मन्दिरबाट दर्शन गरेर फर्किरहेका तीन\चार जना महिलालाई बाढीले झ्याप्पै पा¥यो । हामी कति चिच्यायौं, करायौं, तर केही लागेन । बाढीको आवाज यति डरलाग्दो थियो कि मान्छेको चिच्याहटसमेत सुनिँदैनथ्यो ।


जसोतसो आफ्नो ज्यान त जोगिएको थियो । तर चारैतिर रुवाबासी र कोलाहल थियो । ‘मेरो फलानो बगायो…, मेरो श्रीमती बगायो…, मेरो आमा छैन…, मेरो बच्चा खोइ ?…’ यस्तै आवाजहरु चारैतिरबाट आइरहेका थिए । केहीबेर अघिसम्म आफ्नै घर आँगनमा रहेका मानिसहरु कहाँ पुगे, को बाँचे, को बगे कसैलाई केही थाहा थिएन ।
केही समयदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका डंगोल दम्पती लामो समयदेखि नेपाल जान पाएका थिएनन् । श्रीमती (गुप्ता माया) मिर्गौला प्रत्यारोपण गरेकी बिरामी भएकाले चिकित्सकको सल्लाहअनुसार लामो यात्रा गर्न मिल्दैनथ्यो । त्यसैले लामो समयदेखि नेपालमा रहेका आफन्त र परिवारका सदस्यहरुलाई भेट्नसमेत उनीहरुले पाएका थिएनन् ।


यसपटक भने चिकित्सकले यात्रा गर्न मिल्ने बताएपछि डंगोल दम्पती छोरा र नातिसँगै नेपाल आएका थिए । नुवाकोट बेत्रावतीकै बासिन्दा भएकाले केही दिन काठमाडौंमा आराम गरेपछि उनीहरु बेत्रावती बजारमा रहेको आफ्नै घरमा समय बिताउने योजनामा थिए । बेत्रावती बजारको रमझम, विभिन्न जात्रा, रमिता र भेटघाटका लागि आउने आफन्तहरुको ओहोरदोहोरले उनीहरुको दिनचर्या रमाइलोसँग बितिरहेको थियो । लामो समयपछि आफ्नै जन्मथलोमा फर्केर परिवार र आफन्तसँग समय बिताउन पाउँदा गद्गद् थिए । तर त्यो खुसी धेरै दिन टिकेन ।
विनाशकारी बाढीले केही क्षणमै उनीहरुको जीवनको सबैभन्दा ठूलो खुसीलाई अकल्पनीय पीडामा बदलिदियो ।


‘अहिले सबैभन्दा अपसोच हामीलाई नै छ । हामीले हाम्रो सम्पूर्ण घर, जग्गा जमिन, परिवारका सदस्य र आफन्तहरु गुमायौं । बेत्रावतीका ५७ जना डंगोल परिवारका सदस्य गुमायौं । सबैथोकले भरिपूर्ण भएको मान्छे पनि छिनभरमै रित्तिने रहेछ । बाढीपछि कहाँ बस्नु, के गर्नु ? मान्छेले आफू बसिरहेको घर नै गुमाइसकेपछि ऊसँग बाँकी केही नरहने रहेछ । निमेशभरमै आफूसँग केही बाँकी थिएन ।
‘आपत परेपछि दिमागले काम नगर्ने रहेछ । हामी त बेहोसीजस्तै भएका थियौं । छोरा र नाति कहाँ होलान्, के भयो होला, केही सोच्नै सकेनौं । बाँचेका होलान् भन्ने त एक मनमा पनि आएन ।’


हामी माथि डाँडामा पुगेपछि छोरा र नातिलाई फोन गरें । दुवैको फोन उठेन । ‘त्यसपछि त झन् धेरै डर लाग्यो’, उनी भन्छिन्, ‘अनेकथरी कुरा खेल्न थाले आफ्नो ज्यान त जोगियो, तर छोरा र नातिको के भयो भन्ने थाहा नहुँदा त्यो समय झन् असह्य भयो ।’ केही समयपछि छोराले फोन गरेर हामी ठीक छौं भनेपछि बल्ल सास आयो ।’
आफू कसरी जोगिने भन्ने चिन्ता गर्नुपर्ने अवस्थामा पनि कतिपय मानिस आफ्ना बहुमूल्य सामान र पैसा निकाल्न घरभित्र पस्दा बेपत्ता भए ।
त्यसमाथि घटना यति छिटो भयो कि मानिसहरुले सोंच्ने, निर्णय गर्ने र सुरक्षित स्थानमा पुग्ने समय नै पाएनन् ‘मेरी साहिँली बहिनी पनि पैसा र गरगहना झिक्न जाँदा बेपत्ता भइन्’, आमा सुनाउँछिन्– ‘बाढीले घर मात्र बगाएन वर्षौंको मेहनत, परिवारका सम्झना, आफन्तको साथ र आफ्नै थातथलोको एउटा पूरा संसार नै बगाएर लग्यो ।’