फिचर

गोर्खाली राइनोजलाई जीसीडी नेपाली प्रिमियर लिगको उपाधि

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा सम्पन्न पहिलो ‘जीसीडी नेपाली क्रिकेट प्रिमियर लिगको उपाधि जीसीडी गोर्खाली राइनोजले जितेको छ ।
भदौ २० देखि शुरु भएको प्रतियोगितामा काडोस एनसीसी हार्ड हिटर्स, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लब र ग्रेस इन्टरनेशनल नेपाल टाइटन्स सहभागी थिए । प्रतियोगितामा जम्माजम्मी ७ खेल भएका थिए ।


प्रतियोगिताको उत्कृष्ट बलर काडोस एनसीसी हार्ड हिटर्सका समिर सिंजापतिले प्राप्त गरेका थिए । उनले ४ खेलमा ८ विकेट लिएका थिए । त्यसैगरी उत्कृष्ट फिल्डर काडोस एनसीसी हार्ड हिटर्सका रोहित शर्माले प्राप्त गरे भने उत्कृष्ट ब्याटरको उपाधि काडोस एनसीसी हार्ड हिटर्सकै राजाराम सुवेदीले प्राप्त गरे । उनले ४ खेलमा १७५ रन बनाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लबका मोसिन मत्तोले प्राप्त गरेका थिए उनले ३ खेलमा १२७ रन र ७ विकेट लिएका थिए ।


शारजाहस्थित अल फरहान क्रिकेट मैदानमा भएको फाइनलमा काडोस एनसीसी हार्ड हिटर्सलाई हराउँदै जीसीडी गोर्खाली राइनोजले उपाधि जितेको हो । २६ सेप्टेम्बरमा भएको फाइनल खेलपश्चात् भव्य समारोहका बीच पुरस्कार वितरण गरिएको थियो ।


उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजेतालाई ५ हजार दिराम र उपविजेतालाई २ हजार दिराम पुरस्कार, ट्रफी र मेडल वितरण गरिएको थियो । समापन कार्यक्रममा नेपाली पञ्चेबाजा, नेपाली भजन र विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।