फिचर

बाढीपीडितको सहयोगार्थ यूएईमा महिला भलिबल प्रतियोगिता

यूएई । नेपालको भोटेकोशीमा आएको बाढीबाट पीडित परिवार तथा समुदायको सहयोगार्थ यूएईमा सेप्टेम्बर १८ मा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता दुबईस्थित अलबर्षाको अल क्विेम स्कुलको खेलमैदानमा भएको थियो ।
प्रतियोगिताको विजेताको उपाधि एंगेल्स् टच समूहले पाएको छ भने उपविजेता दुबई मिक्सर र दोस्रो उपविजेता टिम भीएसले प्राप्त गरेको छ ।

भलिबल खेलाडीहरु मुन बम्जन, निशान शाह र सरिता राईको आयोजनामा सम्पन्न प्रतियोगितामा यूएईमा रहेका विभिन्न देशका खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा ११ वटा महिला भलिबल टोलीले सहभागिता जनाएका थिए ।
नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले प्रतियोगितामार्फत सहयोग संकलन गरिएको आयोजकले जनाएको छ ।

खेलाडी, समर्थक, स्वयंसेवक तथा नेपाली समुदायका सदस्यले अभियानमा साथ दिएका थिए । प्रतियोगितामा संकलन भएको रकम ४२०० दिहराम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको थियो ।


खेलकुदको माध्यमबाट विभिन्न पृष्ठभूमिका मानिसलाई एकजुट गर्दै नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजकहरुले प्रतियोगितामा सहभागी सबै ११ टोली, खेलाडी, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
‘नेपालबाट टाढा रहे पनि हाम्रो मन मातृभूमिमै छ ।

भलिबलमार्फत मानिसलाई एकजुट गर्दै बाढीपीडितलाई सहयोग गर्ने हाम्रो उद्देश्य हो’, आयोजकले भने । प्रतियोगिताले यूएईमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्य र मानवीय भावनालाई समेत उजागर गरेको आयोजकको भनाइ छ ।