समाचार

नेपाली राजदूतावासमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीस्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको थियो । नेपाली राजदूतावास अबुधाबीले २०८३ असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब ५० जनाको उपस्थिति रहेको थियो ।


कार्यक्रममा नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, आदिवासी जनजाति महासंघ यूएई लगायत विभिन्न वैचारिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका थिए । उनले संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता तथा संघीय व्यवस्थाको संस्थागत विकासमा सबैको महत्वपूर्ण भूमिका रहने बताए ।


उनले सुशासन, विकास र समृद्धिका लागि सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै नेपालमा हालै आएको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिको सामना गर्न विदेशमा रहेका नेपाली समुदायले पनि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आह्वान गरेका थिए ।


कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा आफ्ना विचार व्यक्त गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षण, कार्यान्वयन तथा नेपाल र नेपालीको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।