नेपाली राजदूतावास अबुधाबीमा शोकसभा
यूएई । नेपाली राजदूतावास अबुधाबीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरुको सम्मानमा भदौ २२ गते सोमबार दूतावास परिसरमा दीप प्रज्ज्वलन तथा शोकसभा सम्पन्न गरेको छ । कार्यक्रममा पीडित परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ, अज्ञात व्यक्तिहरुको सकुशल उद्धार तथा पुनर्मिलनको कामनासहित दीप प्रज्ज्वलन गरिएको थियो । शोकसभामा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शोकसभालाई सम्बोधन गर्दै महामहिम राजदूत तेजबहादुर क्षेत्रीले प्राकृतिक विपत्तिका कारण पु¥याएको पीडा र भौतिक रुपमा भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको पुनर्निर्माण कार्यलाई पुनः अघि बढाउन सबैले हातेमालो गरी सहयोगी भावनाले अघि बढ्नुपर्ने बताए । उनले यूएई सरकारले उपलब्ध गराएको राहत सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाल सरकारका तर्फबाट यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे ।
उनले यूएई सरकारले गरेको यो सहयोग प्राप्त हुनुमा नेपाली समुदायको ठूलो योगदान रहेको बताउँदै नेपाली समुदायलाई धन्यवाद दिए । उनले नेपाललाई सहयोग गर्ने विदेशी संघसंस्था, नेपाली समुदाय तथा शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै यूएईमा रहेको नेपाली समुदायले खुला हृदयले गरेको मानवीय सहयोगप्रति धन्यवाद व्यक्तसमेत गरे ।