विश्व

यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

TOPSHOT - An internally displaced Yemeni girl arrives on a donkey at a water tank dispenser to fill jerrycans in the Abs, Hajjah Governorate on October 10, 2026. Many of the IDPs have fled conflict in northern Yemen and are living in camps as fighting between the Iranian-backed Houthi group and Yemen's internationally recognised government -- supported by Saudi Arabia -- surged in July 2026. Yemen, one of the world's poorest countries, was already suffering from a vast humanitarian crisis even before the war reignited in July. (Photo by Essa AHMED / AFP)

एडेन, यमन,२५ असोज (रासस–सिन्ह्वा) । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध एक हजार ९०० भन्दा बढी सैन्य आक्रमण गरिएको र त्यसक्रममा एक हजार १५० भन्दा बढी लडाकुको मृत्यु भएको दाबी गरेको छ। सरकारी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चामा सञ्चालन गरिएका आक्रमणमा हुथी समूहका हतियार भण्डार, सैन्य शिविर, किल्लाबन्दी, तोपखाना तैनाथ क्षेत्र, सैनिक जमघट तथा आपूर्ति मार्गलाई लक्षित गरिएको बताएका छन् ।

उनका अनुसार हुथीको नियन्त्रणमा रहेका क्षेत्रभित्रका महत्त्वपूर्ण सैन्य लक्ष्यमा समेत आक्रमण गरिएको थियो। कारबाहीका क्रममा १८० भन्दा बढी सैन्य तथा रसदसम्बन्धी सवारीसाधन नष्ट वा क्षतिग्रस्त भएको सरकारी सेनाको दाबी छ।

प्रवक्ता अल–नुजाइलीले यी कारबाहीले हुथी समूहको सैन्य गतिविधि तथा अग्रपङ्क्तिमा आवश्यक सामग्री आपूर्ति गर्ने क्षमतामा असर पार्ने बताए । सरकारी सेनाले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै रणनीतिक स्थानहरूमा नियन्त्रण सुदृढ बनाउने प्रयास जारी राखेको पनि जनाएको छ। यद्यपि, सरकारी सेनाले सार्वजनिक गरेका हताहती तथा क्षतिसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। यस विषयमा हुथी समूहको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।

यमन सरकारले सोमबारदेखि हुथी नियन्त्रणमा रहेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यसहित ठूलो स्तरको सैन्य अभियान सुरु गरेको थियो। दक्षिणपश्चिमी यमनस्थित रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरूमध्य आसपास दुवै पक्षबीच तीव्र भिडन्त भइरहेको बताइएको छ। यसैबीच, यमन सरकारलाई समर्थन गर्दै साउदी अरबले हवाई सैन्य कारबाही तीव्र बनाएको छ। हुथी समूहले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढाएको छ। तीमध्ये राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई समेत निशाना बनाइएको समाचारमा उल्लेख छ।

यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ। त्यस समयमा हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सामा नियन्त्रण कायम गरेको थियो। सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो। हाल उक्त सरकार दक्षिणी बन्दरगाह सहर एडेनमा आधारित छ।