विश्व

रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ का लागि सहमति जनाएको ट्रम्पको दावी

File : US President Donald Trump speaks with reporters prior to boarding Marine One as he departs from the South Lawn of the White House in Washington, DC, on April 11, 2026. President Donald Trump is on his way to Florida to attend an UFC event. (Photo by Mandel NGAN / AFP)

वासिङ्टन, २६ असोज (रासस–एएफपी) । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “तत्काल प्रभावकारी हुने गरी रुस र युक्रेनबीचको युद्ध अन्तर्गत ‘ऊर्जा युद्धविराम’ हुन गइरहेको छ । दुवै पक्ष यसका लागि सहमत भएका छन् ।” युद्धमा घातक आक्रमण बढेपछि आएको यस सहमतिबारे युक्रेन वा रुसबाट तत्काल कुनै पुष्टि भएको छैन।

आइतबार नै युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने, “यदि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण घटाए, युक्रेन रुसी तेल रिफाइनरीमाथि आक्रमण रोक्न तयार छ।” जेलेन्स्कीको यो टिप्पणी ट्रम्प र युक्रेनी नेताबीचको विवादका बीच आएको हो । जेलेन्स्कीले यसअघि रुसी डिजेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने अमेरिकी कदमको निन्दा गरेका थिए ।


एक्सियोसका पत्रकार बाराक राविदका अनुसार जेलेन्स्कीले भनेका छन्, “युद्धविरामको घोषणा मेरा लागि समाचार थियो। तर यदि रुसीहरू ऊर्जा युद्धविराममा सहमत भए भने युक्रेन सहमत हुनेछ। यदि राष्ट्रपति ट्रम्पले पुटिनसँग यसबारे वार्ता गर्नुभएको छ भने कृपया हामीलाई युद्धविराम कहिले सुरु हुन्छ भनेर बताउनुहोस्। हामी यसलाई कार्यान्वयन गर्न तयार छौँ र हामी यसलाई स्वीकार गर्नेछौँ।”