साइक्लोन अर्नबले भारतमा वितण्डा : आंध्र प्रदेशमा ५ जनाको मृत्यु
१२ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भएको भीषण साइक्लोन अर्नबका कारण भारतको आंध्र प्रदेश राज्यमा ठूलो जनधनको क्षति भएको छ। आँधीका कारण हालसम्म ५ जनाको ज्यान गएको आंध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पुष्टि गरेका छन्। मंगलबार मध्यरातपछि बुधबार बिहान सबेरै तटमा ठोक्किएको यो चक्रवातका कारण आंध्र प्रदेशसहित ओडिशा र तेलंगानाका धेरै भागहरूमा भारी वर्षा भइरहेको छ।
आँधी र त्यससँगै आएको विपद्का कारण आंध्र प्रदेशमा पाँच जनाको मृत्यु भएको छ भने राज्य सरकारले क्षतिको प्रारम्भिक आकलन गरिरहेको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार साइक्लोन अर्नब हाल कमजोर हुँदै गएर निम्न दबाब क्षेत्रमा परिणत भएको छ। पछिल्लो ६ घण्टामा यो उत्तरतर्फ करिब १५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको छ।
आंध्र प्रदेशको उत्तरी भागका जिल्लाहरूका साथै काकीनाडा, कोनासीमा र पूर्वी गोदावरी जिल्लामा सबैभन्दा बढी वर्षा र प्रभाव देखिएको छ। आँधीका कारण कोनासीमा जिल्लामा मात्रै करिब ६,००० वटा विद्युतका खम्भा ढलेका छन्। काकीनाडा र उत्तरी आंध्रका अन्य जिल्लाहरूमा पनि सयौं खम्भाहरू उखेसिएका छन्।
तटीय क्षेत्रका कैयौं गाउँ तथा सहरहरूमा विद्युतका तारहरू चुँडिएका कारण व्यापक रूपमा विद्युत आपूर्ति ठप्प भएको छ। विद्युत सेवा पुनः सञ्चालनका लागि छिमेकी राज्य तेलंगानाबाट समेत सहयोग माग गरिएको छ। आंध्र प्रदेश आपदा व्यवस्थापन प्राधिकरणका प्रमुख निर्देशक प्रखर जैनले भारी वर्षा जारी रहेकोले नागरिकहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन कडा आग्रह गरेका छन्। प्रशासनले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्यलाई तीव्र पारेको छ भने जनजीवन सामान्य बनाउनका लागि क्षतिग्रस्त संरचनाहरूको मर्मत कार्य सुरु गरिएको छ।