विश्व

रुस र युक्रेनको 'इमर्जेन्सी वार्निंग सिस्टम'मा साइवर आक्रमण

१६ कात्तिक, काठमाडौं । रुस र युक्रेनले आ–आफ्ना आपतकालीन चेतावनी (इमरजेन्सी वार्निंग) सिस्टममा ठूलो स्तरमा साइवर आक्रमण भएको दाबी गरेका छन्। आक्रमणका क्रममा ह्याकरहरूले दुवै देशका नागरिकहरूलाई नक्कली चेतावनीहरू पठाएका थिए, जसका कारण केही समयका लागि मानिसहरूमा आतंक र भागदौडको स्थिति सिर्जना भयो। ती सन्देशहरूमा विकिरण (रेडिएसन) को खतरा र परमाणु आक्रमणजस्ता गम्भीर चेतावनीहरू दिइएको थियो।

रुसको आपतकालीन मन्त्रालयले आफ्नो आधिकारिक अलर्ट एपमा ठूलो साइवर आक्रमण भएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार यस आक्रमणको मुख्य उद्देश्य गलत सूचनाहरू प्रवाह गर्नु थियो। यद्यपि, मन्त्रालयले देशको मुख्य सार्वजनिक अलर्ट सिस्टम अहिले सामान्य रूपमा काम गरिरहेको र स्थिति नियन्त्रणमा रहेको स्पष्ट पारेको छ।

यता, युक्रेनको एयर रेड वार्निंग एपमा पनि यस्तै किसिमको साइवर आक्रमण भएको र नक्कली चेतावनीहरू पठाइएको घटना बाहिर आएको छ। युक्रेनको सेन्टर फर स्ट्ररेटिक कम्युनिकेसन्स ले यस साइवर आक्रमणका लागि प्रत्यक्ष रूपमा रुसलाई जिम्मेवार ठहराएको छ। यस सम्बन्धमा उक्त संस्थाले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा एक आधिकारिक पोस्ट साझा गर्दै युक्रेनको एयर रेड एपमा देखिएका ती नक्कली अलर्टहरूको तस्बिरहरू पनि सार्वजनिक गरेको छ।