समाचार

इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

United States President Donald Trump speaks during the 81st session of the United Nations General Assembly at United Nations headquarters, Tuesday, Sept. 22, 2026. (AP Photo/Yuki Iwamura)

१८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ ।

आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत गर्ने ट्रम्पले स्पष्ट पारेका छन् । फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले यस वर्षको अन्त्यसम्म इजरायललाई आर्थिक सहायता दिन बन्द गरिने बताएका हुन् । तर, डिसेम्बरभित्रै सहायता कसरी रोक्ने भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन् ।

अमेरिका र इजरायलबीचको वर्तमान सैन्य सहायता सम्झौता भने सन् २०२८ को सेप्टेम्बरसम्म कायम छ । उक्त सम्झौताअनुसार अमेरिकाले इजरायललाई प्रत्येक वर्ष ३ अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । इजरायललाई अमेरिकी सहायता रोक्ने घोषणा यस्तो समयमा आएको छ, जतिबेला अमेरिकाभित्र इजरायलप्रतिको समर्थन घट्दै गएको छ । विशेषगरी गाजामा इजरायली सैन्य कारबाहीलाई लिएर डेमोक्रेटिक पार्टीका नेताहरूले अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन् ।

जुन महिनामा क्विनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाता र ६६ प्रतिशत डेमोक्रेटिक मतदाताले अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा व्यक्त गरेका थिए । अमेरिकाले मध्यपूर्वमा इजरायललाई अत्यधिक सहयोग गरिरहेको भन्दै अमेरिकी जनमतमा प्रश्न उठिरहेका बेला ट्रम्पको यो घोषणा आएको हो ।

इजरायललाई दिइँदै आएको अमेरिकी सहायता रिपब्लिकन पार्टीभित्रै पनि बहसको विषय बन्दै आएको छ । यसैबीच, अमेरिकामा जारी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभाको नियन्त्रण गुमाउन सक्ने आकलन गरिएको छ । ट्रम्पले सहायता रोक्ने घोषणालाई इजरायललाई अमेरिकी आर्थिक सहयोग आवश्यक नरहेको तर्कसँग जोडेका छन् । यसले अमेरिका–इजरायलबीचको दशकौँ पुरानो सैन्य सम्बन्धको स्वरूपमा परिवर्तन आउन सक्ने संकेत गरेको छ ।