तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म
नारायणगढ (चितवन), २३ कात्तिकः तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदीमा प्रतिबिम्बित सहरका बत्तीको दृश्यले स्वर्गीय अनुभूति गराउँछ । सामान्य दिनमा पनि यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । तर, तिहारजस्ता विशेष पर्वमा सहर र बस्ती झिलिमिली हुँदा यहाँको दृश्य थप आकर्षक देखिन्छ । इला होटलबाट नारायणी नदीपारि गैँडाकोटबाट नारायणगढ, भरतपुर हुँदै रत्ननगरसम्मको सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती दीपावलीका कारण उज्यालो देखिन्छन् ।
यही मनोरम दृश्य अवलोकन गर्न पर्यटक मौलाकाली केबलकार चढेर इला होटल पुग्ने गरेका छन् । तिहारका अवसरमा पर्यटकको आकर्षणलाई लक्षित गर्दै इलासम्म पुग्नका लागि मौलाकाली केबलरकार १८ घण्टा सञ्चालन भइरहेको छ । केबलकारका कार्यालय प्रमुख सुरज पौडेलका अनुसार यहाँ दैनिक रूपमा केबलकार चढेर इला होटल पुग्ने र यहाँको वातावरणमा रमाउने पर्यटक तथा धार्मिक भक्तजनको आगमन हुने गरेको छ ।
उनले भने, “यहाँ मन्दिरमा आउने भक्तजनहरू बिहान दिउँसो बढी हुनुहुन्छ । अनि कतिपय भक्तजन एक रात इलामा बसेर रमाइलो दृश्यका साथ बसेर मन्दिर दर्शन गरी फर्कनुहुन्छ ।” उनका अनुसार यहाँबाट साँझको समयमा रमाउन तथा आसपासको झिलिमिली दृश्य अवलोकन गर्न आउने पर्यटक बढिरहेका छन् । कतिपय पर्यटक साँझको समय होटलमा बिताएर मनोरञ्जन तथा दृश्यावलोकनपछि केबलकारमार्फत फर्कने गरेको उनले बताए ।
पौडेलका अनुसार पर्यटकको बसाइँ र मनोरञ्जनका लागि होटलमा ६५ वटा कोठा छन् । त्यस्तै, पौडी खेल्नका लागि ‘रुफटप स्विमिङ पुल’ (छतमा रहेको पौडीपोखरी) र रातिको समयमा आसपासको झिलिमिली दृश्य अवलोकन गर्दै रमाउन ‘रुफ स्काईबार’को व्यवस्था गरिएको छ ।
मौलाकाली केबलकार चढेर पर्यटक यहाँसम्म पुग्न सक्छन् । केबलकारका १४ वटा डिब्बा रहेकामा दैनिक १२ वटा सञ्चालन हुने गरेका छन् । एउटा डिब्बामा एकपटकमा आठ जनासम्म यात्रा गर्न सक्ने व्यवस्था छ । तिहारका अवसरमा केबलकार चढेर होटल इला पुग्ने, दृश्यावलोकन गर्ने र तस्बिर खिच्ने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको पौडेलले बताए ।