विज्ञान प्रविधि

सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौँ, २४ कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाए । उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गरेको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गरे । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरे । उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराए ।


त्यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरे । भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ । यसैबीच, मन्त्री डा तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाए । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तरराष्ट्रिय मञ्च हो ।